तिलक वर्माको आक्रामक ब्याटिङ: मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित

तिलक वर्माको आक्रामक ब्याटिङ: मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित : Icon Khabar

काठमाडौँ, जेठ १ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ५८औँ खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्समाथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ।

धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा बिहीबार राति भएको खेलमा मुम्बईले पञ्जाबले दिएको २०१ रनको विशाल लक्ष्य अन्तिम ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो। मुम्बईको यो जितमा तिलक वर्माले विष्फोटक ब्याटिङ गर्दै अविजित ७५ रनको योगदान दिए । उनलाई साथ दिँदै विल ज्याक्सले १० बलमा २५ रनको विष्फोटक पारी खेलेपछि मुम्बईले एक बल बाँकी छँदै जित सुनिश्चित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पञ्जाब किङ्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०० रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। पञ्जाबका लागि प्रारम्भिक ब्याटर प्रभसिम्रन सिंहले ५७ रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए।

मध्यक्रममा केही सुस्तता देखिए पनि अन्तिम ओभरहरूमा अजमतुल्लाह ओमरजाईले १७ बलमा ३८ रनको विष्फोटक क्यामियो खेलेपछि पञ्जाबले दोहोरो शतकको आँकडा पार गर्‍यो। मुम्बईका लागि बलिङतर्फ शार्दुल ठाकुरले घातक बलिङ गर्दै महत्वपूर्ण ४ विकेट लिएर पञ्जाबको मध्यक्रमलाई ध्वस्त पारेका थिए।

२०१ रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुवात निकै आक्रामक रह्यो। दक्षिण अफ्रिकी ब्याटर रायन रिकेल्टनले २३ बलमा ४८ रन जोड्दै टोलीलाई बलियो जग बसाले। यद्यपि, अर्का प्रारम्भिक ब्याटर रोहित शर्माले खासै लय समात्न सकेनन् र २५ रनमै युजवेन्द्र चहलको बलमा बोल्ड भए।

१० ओभरको समाप्तिमा ८९ रनमा ३ विकेट गुमाएर केही दबाबमा परेको मुम्बईका लागि तिलक वर्मा ‘संकटमोचक’ बनेर उत्रिए । उनले ३३ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै खेललाई मुम्बईको नियन्त्रणमा ल्याए।

अन्तिम तीन ओभरमा मुम्बईलाई जितका लागि ५१ रनको आवश्यकता थियो, जुन निकै कठिन देखिन्थ्यो। तर, तिलक र विल ज्याक्सले मार्को यान्सेनको १८औँ ओभरमा २२ रन बटुल्दै खेलको समीकरण बदलिदिए। १९औँ ओभरमा थप १४ रन जोडेपछि अन्तिम ओभरमा मुम्बईलाई १५ रन चाहिएको थियो।

तिलकले अन्तिम ओभरमा दुई छक्का प्रहार गर्दै टोलीलाई रोमान्चक जित दिलाए। यो पराजयसँगै पञ्जाब किङ्सको प्लेअफ यात्रा निकै कठिन मोडमा पुगेको छ भने मुम्बईले आफ्नो प्रतिष्ठा जोगाउन सफल भएको छ। खेलको उत्कृष्ट प्रदर्शनका लागि तिलक वर्मा ‘प्लेयर अफ द म्याच’ घोषित भए।

Published Date: 15 May 2026