काठमाडौँ, वैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी मंगलबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी मंगलबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक र प्रशासनिक तयारी पूरा भएको जनाएको छ ।
बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले कुनै प्राविधिक समस्या नआए अबको दुई दिनभित्रै नतिजा सार्वजनिक गरिने जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो तर्फबाट सबै तयारी पूरा भइसकेको छ । कुनै प्राविधिक कठिनाइ नभए मंगलबारसम्म नतिजा प्रकाशित गर्छौं ।’ यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो ।
परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ बोर्डले काम गरिरहेको छ । यस वर्ष देशभरका ११ हजार ३ सय ७९ विद्यालयका कुल ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
परीक्षार्थीको विवरण: नियमिततर्फ: ४ लाख ४१ हजार ५ सय ६६ जना
ग्रेड वृद्धितर्फ: ७० हजार ८ सय ५५ जना
छात्रा: २ लाख ५७ हजार ६ सय १३ जना छात्र: २ लाख ५४ हजार ८ सय १ जना
अन्य: ७ जना
यस वर्षको परीक्षामा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको छ । साथै, जापानको एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिएका थिए । यस वर्षको नतिजा तयारीमा एक नयाँ प्रयोग समेत गरिएको छ । विगतका वर्षहरूमा उत्तरपुस्तिका अन्यत्र पठाइने गरिए पनि यस वर्ष जुन केन्द्रमा परीक्षा दिइएको थियो, सोही क्षेत्रमा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो ।
Published Date: 10 May 2026