सङ्गीत रोयल्टीको नाममा एफएम रेडियोमाथि धरपकड भएको भन्दै सञ्चारसम्बद्ध संस्थाहरूको आपत्ति

सङ्गीत रोयल्टीको नाममा एफएम रेडियोमाथि धरपकड भएको भन्दै सञ्चारसम्बद्ध संस्थाहरूको आपत्ति : Icon Khabar

काठमाडौं, वैशाख २७ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) र ब्रडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सङ्गीत रोयल्टी संकलनको नाममा एफएम रेडियो सञ्चालकमाथि भइरहेको धरपकडप्रति गम्भीर आपत्ति जनाएका छन् ।

संस्थाहरूले भक्तपुर एफएमका सञ्चालकमाथि वैशाख २५ गते सङ्गीत रोयल्टी संकलन समाजको नाममा फौजदारी अभियोग लगाई गरिएको पक्राउप्रति भर्त्सना गर्दै यस्तो गतिविधि तत्काल रोक्न माग गरेका हुन् । साथै, भक्तपुर जिल्ला अदालतले प्रतिवादीलाई साधारण तारिखमा रिहा गरेकोप्रति अदालतप्रति आभार व्यक्त गरिएको छ ।

संयुक्त विज्ञप्तिमा सर्जकको सम्मान र बौद्धिक सम्पत्तिको संरक्षणमा एफएम रेडियोहरूको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै सर्जकको पारिश्रमिकप्रति आफूहरू पूर्ण प्रतिबद्ध रहेको जनाइएको छ । तर, विद्यमान कानुनको गलत व्याख्या गर्दै व्यावसायिक एजेन्ट परिचालन गरी रेडियोकर्मी र सञ्चालकलाई अपराधीसरह व्यवहार गर्ने कार्य अस्वीकार्य भएको संस्थाहरूको भनाइ छ ।

विज्ञप्तिमा प्रतिलिपि अधिकार ऐन, २०५९ तथा नियमावली, २०६१ को पूर्ण पालना गर्न तयार रहे पनि दफा २७ को दुरुपयोग गरी देवानी विषयलाई फौजदारी मुद्दामा परिणत गरिएको आरोप लगाइएको छ ।

त्यस्तै, एक संस्थालाई रोयल्टी बुझाइसकेपछि पनि विभिन्न सर्जकले छुट्टाछुट्टै दाबी गर्न सक्ने कानुनी अस्पष्टता रहेको भन्दै सङ्गीत रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी, एकद्वार र न्यायोचित बनाउन सरकारसँग माग गरिएको छ ।

एफएम रेडियोहरूको आर्थिक अवस्था कमजोर हुँदै गएको उल्लेख गर्दै संस्थाहरूले रोयल्टी निर्धारणका आधार र दर पुनरावलोकन गर्नुपर्ने बताएका छन् । साथै, सङ्गीत रोयल्टी संकलन तथा वितरणका लागि भरपर्दो सरकारी निकाय स्थापना गर्नुपर्ने मागसमेत अघि सारिएको छ ।

विज्ञप्तिमा सर्वोच्च अदालतमा विचाराधीन विषयमा भइरहेको धरपकड र मुद्दा प्रक्रियाले कानुनी प्रक्रियामै असर पुर्‍याउने भन्दै यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

Published Date: 10 May 2026


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु