हेजलवुड र भुवनेश्वरको घातक बलिङमा दिल्लीको लज्जास्पद हार

हेजलवुड र भुवनेश्वरको घातक बलिङमा दिल्लीको लज्जास्पद हार : Icon Khabar

काठमाडौं, वैशाख १५ । रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ।

दिल्लीमा ७६ रनको सामान्य लक्ष्य आरसिबीले ६.३ ओभरमै १ विकेट गुमाएर पूरा गर्‍यो। आरसिबीकले ८१ बल बाँकी रहँदै सहज जित हासिल गरेको हो।

दिल्लीको ब्याटिङ सुरुदेखि नै संकटमा पर्‍यो। जोस हेजलवुड र भुवनेश्वर कुमारको घातक बलिङका कारण दिल्ली ८ रनमै ६ विकेट गुमाएर गम्भीर अवस्थामा पुगेको थियो। पावरप्लेमै दिल्लीले १३ रन मात्र बनाउन सक्यो, जुन आइपिएल इतिहासकै सबैभन्दा कम पावरप्ले स्कोर हो।

भुवनेश्वरले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै जोस हेजलवुडले ३ ओभरमा ८ रन दिँदै ३ विकेट लिए। हेजलवुडले कुल ४ विकेट लिएर दिल्लीको ब्याटिङ लाइनअप ध्वस्त पारे।

दिल्लीका लागि अभिषेक पोरेलले ३० रन बनाउँदै टोलीलाई केही सम्मानजनक स्कोरसम्म पुर्‍याए। उनी बाहेक कुनै पनि ब्याटरले २० रन पार गर्न सकेनन्। दिल्ली अन्ततः ७५ रनमा अलआउट भयो।

लक्ष्य पछ्याउने क्रममा आरसिबीले आक्रामक सुरुवात गर्‍यो। जेकब बेथेलले ११ बलमा २० रन बनाए। देवदत्त पडिक्कलले नटआउट ३४ रन जोडे। पावरप्ले सकिँदा बैंगलुरु ६५/१ को अवस्थामा पुगेको थियो।

त्यसपछि विराट कोहलीले लगातार दुई छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याए। कोहली २३ रनमा नटआउट रहे। यस क्रममा कोहली आइपिएल इतिहासमा ९ हजार रन बनाउने पहिलो खेलाडी समेत बने।

यो जितसँगै आरसिबी अंक तालिकाको शीर्ष स्थानमा रहेको टोलीसँगको दूरी १ अंकमा झार्दै आफ्नो नेट रनरेट पनि सुधार गरेको छ।

Published Date: 28 April 2026