अमेरिकाले सुरू गर्यो इरानमाथि नाकाबन्दी

अमेरिकाले सुरू गर्यो इरानमाथि नाकाबन्दी : Icon Khabar

काठमाडौँ, वैशाख १ । अमेरिका इरानमाथि नाकाबन्दी सुरू गरेको छ। अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी सुरू गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएपछि ट्रम्पले सोमबारदेखि नै लागू हुने गरी इरानमाथि नाकाबन्दी लगाउने घोषणा गरेका थिए।

इरानमाथि नाकाबन्दी लगाए पनि इरानसँगको संवादको प्रयास जारी रहेको भनेर एक अमेरिकी अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पनि द्वन्द्व समाधानका लागि प्रयासहरू अझै जारी रहेको बताएका छन्।

इरानले सोमबार सम्पर्क गरेको थियो र उनीहरू सम्झौता गर्न चाहन्थे भनेर ट्रम्पले दाबी गरेका छन्। तर इरानलाई परमाणु हतियार राख्न अनुमति दिने कुनै पनि सम्झौतालाई स्वीकृति नदिने उनले बताएका छन्।

‘इरानसँग परमाणु हतियार हुने छैन,’ ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामी कुनै पनि देशलाई विश्वलाई ब्ल्याकमेल गर्न वा धम्काउन दिन सक्दैनौं।’

अमेरिका र इसराइलले युद्ध सुरू गरेपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेर आफ्नो अनुमतिमा मात्रै सो जलमार्ग प्रयोग गर्न दिइरहेको छ।

वार्ता असफल भएपछि जबाफमा अमेरिकाले पनि हर्मुजमा नाकाबन्दी लगाउने ट्रम्पले घोषणा गरेका हुन्।

हर्मुज प्रयोग गरी इरानी बन्दरगाहमा जाने र त्यहाँबाट फर्कने सबै देशका जहाजमा नाकाबन्दी लगाउने अमेरिकाले घोषणा गरेको छ। हर्मुज हुँदै अन्य देशमा जाने समुद्री जहाजहरूलाई भने अवरोध नगरिने अमेरिकाले जनाएको छ।

ट्रम्पको सो नाकाबन्दीलाई इरानले गैरकानूनी भन्दै त्यसको प्रतिकार गर्ने दृढता व्यक्त गरिसकेको छ। अमेरिकाले नाकाबन्दी लगाए खाडी राष्ट्रका बन्दरगाहहरूमा आक्रमण गर्ने इरानले धम्की दिएको छ।

अमेरिका र इसराइलले फेब्रूअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेका थिए।

केही दिनअघि अमेरिका र इरानबीच दुई हप्ते युद्धविराम भएको थियो। युद्धको स्थायी अन्त्य गर्न अमेरिका र इरानबीच पाकिस्तानमा शनिबार भएको वार्ता निष्कर्षविहीन भएको छ। शनिबार दिउँसोदेखि आइतबार बिहान ५ बजेसम्म चलेको वार्ता निष्कर्षविहीन भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्।

अमेरिकी वार्ता टोलीको नेतृत्व गरेका भान्सले इरानले अमेरिकी प्रस्ताव अस्वीकार गरेको पनि जनाएका छन्। ‘उनीहरू हाम्रो सर्त मान्न तयार देखिएनन्,’ उपराष्ट्रपति भान्सले भने।

वार्ताका सर्तहरू तत्काल सार्वजनिक नगरिने पनि भान्सले बताएका छन्। ‘तर तेहरानले परमाणु हतियार र त्यसका लागि आवश्यक हतियार विकास गर्दैन भन्ने हामीलाई इरानबाट स्पष्ट र ठोस प्रतिबद्धता चाहिन्छ,’ उनले भने।

अर्कोतर्फ इरानले पनि अमेरिकाले ज्यादै कडा र अव्यावहारिक माग राखेको दाबी गरेको छ।

Published Date: 14 April 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड