भक्तपुर, चैत ३० । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्दै आएको प्रतिष्ठित मदरल्याण्ड स्कुल ले वार्षिकोत्सवको अवसरमा “सम्मान तथा प्रतिभा प्रस्तुतीकरण कार्यक्रम–२०८२” तथा पूर्वप्राथमिक तहको दीक्षान्त समारोह चैत्र २८ गते भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको औपचारिक उद्घाटन प्ले ग्रुपका दुई साना विद्यार्थीले बिरुवामा जल अर्पण गरेर गरिएको थियो, जसले कार्यक्रमलाई फरक र आकर्षक बनाएको थियो। प्रमुख अतिथि राख्ने परम्परा तोडेर आयोजना गरिएको यस कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता र प्रशंसा देखिएको थियो।
विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयको प्रगति र भावी योजनाबारे जानकारी दिँदै सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माण कार्य सुरु गरिएको बताए। उनले विद्यार्थीको समग्र विकासका लागि विविध कार्यक्रम सञ्चालन गरिएको र विद्यालयको २१ वर्षे यात्रामा अभिभावकहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे। साथै, प्रि-स्कुल तहमा पाठ्यपुस्तक निःशुल्क गरिएको, स्कुल हेल्थ नर्स व्यवस्था गरिएको, प्रविधिमैत्री शिक्षण र व्यक्तित्व विकासमा जोड दिइएको जानकारी दिए।
कार्यक्रममा शैक्षिक वर्ष २०८२ मा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएको थियो। यसैगरी, पालिका, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने ५६ जना विद्यार्थीलाई विशेष सम्मान प्रदान गरियो। वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने १५ विद्यार्थी तथा शिक्षकलाई समेत पुरस्कृत गरिएको थियो। कक्षागत उत्कृष्ट जिपिए ल्याउने तथा स्तरोन्नति हुने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।
यूकेजी तहका विद्यार्थीहरूको दीक्षान्त समारोह समेत सम्पन्न भएको कार्यक्रममा ईसिडी एक्सपर्ट तथा प्रि-स्कुल को-अर्डिनेटर सुमित्रा राणामगर ले विद्यालयमा ईसिडी तथा मन्टेस्वरी पद्धतिमा आधारित शिक्षण भइरहेको जानकारी दिइन्। त्यस्तै, एकेडेमिक को-अर्डिनेटर धारणा स्यान्दिल्य काफ्लेले आगामी शैक्षिक सत्र २०८३ का आन्तरिक मूल्याङ्कन प्रणालीबारे जानकारी गराइन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्का को सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति झल्कने नृत्य, गीत, नाटक तथा विविध प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रमको निर्देशन विद्यालयकी एक्ज्युकेटिभ हेड शर्मिला देउजाले गरेकी थिइन् भने सञ्चालन शिक्षक शृष्टि कासुलाले गरेकी थिइन्।
Published Date: 13 April 2026