काठमाडौँ, चैत १३ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ।
शपथअघि राष्ट्रपति कार्यालयले नेता शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गर्नेछ। नेपालको संविधानको धारा ७६ (१) अनुसार एकल सरकार गठन हुन लागेको जनाइएको छ।
राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम आयोजना गरिनेछ। उक्त समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीलाई निमन्त्रणा दिइएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइने तयारी रहेको बुझिएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय बहुमत हासिल गर्दै १८२ सिट जितेको छ। सो दलले बिहीबार मात्रै बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेको थियो।
प्रतिनिधिसभा निर्वाचनमा शाह झापा क्षेत्र नं. ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए। त्यस्तै, बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नव-निर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसकेका छन्।
Published Date: 27 March 2026