अमेरिका र इजराइलले इरानमा हमला गरेयता इरानमा ७०० जनाभन्दा बढी मानिसहरूको मृत्यु

अमेरिका र इजराइलले इरानमा हमला गरेयता इरानमा ७०० जनाभन्दा बढी मानिसहरूको मृत्यु : Icon Khabar

काठमाडौँ, फागुन १९ । अमेरिका र इजराइलले इरानमा संयुक्त रूपमा हमला गरेयता इरानमा ७०० जनाभन्दा बढी मानिसहरूको मृत्यु भएको दाबी गरिएको छ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र उच्च अधिकारीहरूलाई लक्ष्य गरेर अमेरिका र इसराइलले शनिबार तेहरान लगायत विभिन्न ठाउँहरूमा हमला गरेको थियो।

अमेरिका आधारित इरानी मानवअधिकार सम्बद्ध समाचार एजेन्सी एचआरएएनएले सोमबारसम्म ७४२ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु भएकामध्ये १७६ जना बालबालिकामात्रै रहेको जनाएको छ।

आक्रमणमा ९ सयजनाभन्दा बढी घाइते भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा ८५ जनाको मृत्यु भएको र सयौं थप मृत्युको विवरण प्रमाणीकरणको क्रममा रहेको एचआरएएनएले जनाएको छ।

हमलामा धार्मिक संरचना र आवासीय भवनहरूमा समेत क्षति पुगेको दाबी गरिएको छ।

राजधानी नजिकैको कराजस्थित एक मस्जिद, तेहरानको दक्षिणी क्षेत्रमा रहेको एक गभर्नर कार्यालय, हर्मुज समुद्री मार्ग नजिकको बन्दर अब्बासमा अवस्थित शाहिद बहोनार पियर, तथा विभिन्न आवासीय भवनहरूमा क्षति पुगेको एचआरएएनएले उल्लेख गरेको छ। इरानले तेहरानका केही अस्पतालहरूमा पनि क्षति पुगेको दाबी गरेको छ।

सैन्य लक्ष्यतर्फ, पश्चिमी शहर सानान्दाजमा रहेको कुर्दिस्तान कानुन कार्यान्वयन कमाण्डको मुख्यालय र कुर्दिस्तान सीमाप्रहरी कमाण्ड केन्द्रमा आक्रमण भएको जनाइएको छ।

साथै इस्फहानस्थित एक वायुसेना अड्डा र तेहरानमा रहेको एक सैनिक आधारमा पनि क्षति पुगेको एचआरएएनएले दाबी गरेको छ।

यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2026