काठमाडौँ, फागुन १० । पाकिस्तानले अफगानिस्तान सँगको सीमानामा हवाई हमला गरेको छ। गएराति पाकिस्तानले अफगानिस्तानको नंगरहार र पक्तिका प्रान्तसँग सीमाना जोडिएको आफ्नो भूभागमा हवाई हमला गरेको हो।
पाकिस्तानले त्यहाँ आतंकवादी अड्डा र शिविरहरूलाई लक्ष्य गरेर आक्रमण गरिएको बताएको छ। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्रालयका अनुसार झन्डै सात ठाउँमा गएराति हमला गरिएको थियो।
हमला गरिएका ठाउँहरु पाकिस्तानी तालिबानसँग सम्बद्ध फितना अल ख्वारिजसहित उसका सहयोगी संगठन तथा इस्लामिक स्टेट खोरासन प्रान्त (आइएसकेपी)का अखडाहरू रहेको दाबी पाकिस्तान सरकारको छ।
पाकिस्तानको राजधानी इस्लामावाद लगायतका ठाउँहरुमा पछिल्लो महिनायता आत्मघाती बम विस्फोटका शृंखलाबद्ध घटना भएका छन्।
तीमध्ये केही घटनाको जिम्मेवारी आइएसकेपीले लिएको थियो।
अन्य घटनामा पनि ती संगठनहरूको संलग्नता रहेको पुष्टि हुने प्रमाणहरू रहेको भनेर पाकिस्तानले दाबी गर्दै आएको छ।
उसले त्यस्ता संगठनहरूविरूद्ध कारबाही गर्न अफगानिस्तानलाई पनि आग्रह गरेको थियो। साथै ती संगठनहरुलाई अफगानी भूमि पाकिस्तानविरूद्ध प्रयोग हुन नदिन पनि काबुललाई सचेत गराएको थियो।
अफगानिस्तानको तालिबान सरकारले भने पाकिस्तानी सेनाले सीमा उल्लंघन गर्दै हवाई आक्रमण गरेको आरोप लगाएको छ।
तालिबान सरकारका प्रवक्ता जाबिहउल्लाह मुजाहिदले नंगरहार र पक्तिका प्रान्तमा भएको बमबारीमा महिला र बालबालिकासहित दर्जनौं सर्वसाधारणको मृत्यु तथा घाइते भएको दाबी गरेका छन्।
उनले पाकिस्तानी सैन्य नेतृत्वले आफ्ना आन्तरिक सुरक्षा कमजोरी ढाकछोप गर्न यस्तो कदम चालेको आरोपसमेत लगाएका छन्।
सीमा क्षेत्रमा बढ्दो तनावले दुई देशबीचको सम्बन्ध थप जटिल बन्ने संकेत देखिएको छ।
पछिल्ला वर्षहरूमा सीमा पार गतिविधि र आतंकी आक्रमणका विषयमा दुवै पक्षबीच निरन्तर आरोप–प्रत्यारोप हुँदै आएको छ।
Published Date: 22 February 2026