काठमाडौँ, माघ ८ । प्रदूषित सुक्खा चिसो छिचोल्दै नेपालमा पानी पार्ने बादल भित्रिने तर्खर गरेको छ । सुक्खा खडेरी र वायुप्रदूषणले यतिखेर नेपाल ग्रस्त रहेका बेला वर्षा हुने बादल नेपाल आउन थालेको हो । मौसमविद् डेविड ढकालले भने, “शुक्रबारदेखि बलियो प्रणाली नेपाल आउन लागेको हो, त्यसले पश्चिमका अधिकांश भूभागमा वर्षा गराउने सम्भावना छ भने अन्यत्रको अवस्था हामी विश्लेषण गर्दै छौँ ।”
उनका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म उक्त प्रणालीले छुने सम्भावना छ । हिउँद याम घर्कंदै गर्दा आउन थालेको वर्षा प्रणालीले सबैतिर वर्षा नगराउने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार हालसम्म कायम रहेको सुक्खा अवस्थालाई केही हदसम्म भए पनि यस प्रणालीले कम गर्ने सम्भावना छ ।
सुक्खा बढेसँगै नेपालमा वायुप्रदूषण र तुवाँलो लाग्ने क्रम बढेको छ । वर्षा नभएपछि आकासिएका धुलोका कण वायुमण्डलमै रहेका कारण बिहान बेलुका तुवाँलो लाग्ने गरेको छ । दिउँसो पनि घामको किरण छेक्दै वातातवरण धुमिल हुने क्रम जारी छ ।
वायुप्रदूषणको दर उस्तै
हिउँद याम लागेसँगै देशका विभिन्न भागमा वायुप्रदूषणको स्तर उस्तै छ । हिउँद यामसँगै बढ्दो वायुप्रदूषण उच्चस्तरमा रहेको वातावरण विभागले जनाएको छ । विभागका अनुसार विशेष गरी काठमाडौँ, पोखरालगायत देशका ठुला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा हावामा २.५ पिएमक्युमुनिका धुलोका कणसहितको प्रदूषण बढेको छ । विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण पनि वायुप्रदूषण उच्च बनेको हो ।
गत २४ घण्टामा रत्नपार्क स्टेसनले वायुप्रदूषणको १६१ सूचक देखाएको छ । त्यस्तै पूर्वको इलाममा पनि सोही स्तरको प्रदूषण रेकर्ड भएको छ । भक्तपुर, दाङमा पनि १५५ माथिको अस्वस्थकर वायुप्रदूषण रहेको छ । सुर्खेत, खुमलटार, शङ्खपार्कलगायतका स्थानको वायु पनि अस्वस्थकरतर्फ लक्षित रहेको अनुगमन प्रणालीले देखाएको छ । वायुप्रदूषणको राप हिमालसम्म पुगेको छ । जस अनुसार मुस्ताङ र अछामसम्म वायुप्रदूषण पुगेको छ ।
Published Date: 22 January 2026