सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक

सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक : Icon Khabar

भक्तपुर, माघ ४ । सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ आइतबार सार्वजनिक गरिएको छ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा उक्त भजन सार्वजनिक गरिएको हो। कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छें विशेष अतिथिका रूपमा सहभागी थिए। वसन्त पञ्चमीलाई लक्षित गर्दै तयार गरिएको सो भजन युट्युब च्यानल एसपीजे आर्ट एण्ड म्युजिकमार्फत वर्ल्ड प्रिमियर गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि जोशीले भजनको अडियो–भिडियोको प्रशंसा गरिन्। भजन बजिरहेका बेला संगीतले आफूलाई डुबाएको अनुभूति भएको बताउँदै उनले सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गरिन्।

भजनमा सानु मैयाँ धौभडेल र सुरज कपालीको स्वर रहेको छ। बद्री नारायण ताम्रकारको संगीत, कपिल कस्पालको शब्द र बुद्ध सायमीको एरेञ्ज रहेको गीतमा तबलामा गौतम श्रेष्ठको साथ छ।

आशिष नापितको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा सजन् ख्याजु र कृजल न्हुच्छें प्रधानको छायांकन रहेको छ। भिडियोमा अलिशा गरु, कृशला मथ्या र सकिरा प्रजापतीको अभिनय छ।

भजन सार्वजनिकरण कार्यक्रम संगीतकार बद्री नारायण ताम्रकारको सभापतित्वमा सम्पन्न भएको थियो।

Published Date: 18 January 2026