काठमाडौंको प्रदूषण थप घट्यो, कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौंको प्रदूषण थप घट्यो, कस्तो रहला आज देशभरको मौसम ? : Icon Khabar

काठमाडौँ, चैत २९ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतयादेखि पूर्णतया बदलीको अवस्था रहेको छ । कोशी प्रदेश, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज (शुक्रबार) दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेश र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यसबाट हालसम्म देशव्यापी रहिरहेको तुँवालो क्रमिक रुपमा कम हुने देखिन्छ । मेघगर्जन र चट्याङ्ग, वर्षा, हिमपात लगायत तुँवालोका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौंको वायु प्रदूषण थप घट्यो
वर्षापछि काठमाडौंको वायु प्रदूषण घटेको छ । काठमाडौँ उपत्यकमा दुई दिनदेखि भइरहेको सामान्य वर्षाको कारण वायु प्रदूषण कम भएको हो । काठमाडौँमा बुधबार दिउँसोदेखि छिटपुट वर्षा सुरु भएको थियो । बिहीबार पनि काठमाडौँमा सामान्य वर्षा भएको छ । यसले काठमाडौँको वायु प्रदूषण घटेको हो ।

मंगलबारसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौँ उपत्यका आज १८ औं स्थानमा झरेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार शुक्रबार बिहान साढे ५ बजेको मापन अनुसार काठमाडौँको समग्र एक्यूआई ९९ छ । हिजो बिहान यही सयममा एक्यूआई १५२ थियो । यतिबेला वायु प्रदूषणको दृष्टिले कुबेत पहिलो र इराकको बग्दाज दोस्रो स्थानमा छन् । त्यसैगरी चीनको बेइजिङ तेस्रो स्थानमा छ । कुबेतको एक्यूआई यतिबेला ३९९७, बग्दादको ९४८ र बेइजिङको १६० छ।

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको थियो । काठमाडौँ उपत्यका आसपासका जंगलमा लागेको डढेलो पनि वर्षाले निभेको छ ।

केही दिनअघि काठमाडौँको एक्यूआई ३५२ सम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 April 2025
Website | + posts