आज माघे सङ्क्रान्ति पर्व देशभर मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व देशभर मनाइँदै : Icon Khabar

काठमाडौँ, माघ १ ।  आज माघ १ अर्थात् माघे संक्रान्ति ।  माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । थारू, मगर, किराँत समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँछन् ।

आज नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले यसलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार पनि माघ महिना विशेष हुन्छ । सामान्यतया पुस महिनामा विवाह व्रतबन्ध जस्ता कार्यक्रम नहुने हुँदा माघ सुरु भएलगत्तै विवाहलगायत शुभकार्य गर्ने चलन पनि रही आएको छ ।

तराईका जिल्लाहरूमा मैथिलीले तिला संक्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यसदिन खिचडी, तिल लगायतका परिकार बनाएर खाने गरिन्छ भने माघी थारूहरूको मौलिक संस्कृति पर्व रूपमा रहेको छ ।

यसैगरी, मगर जातिले यस पर्वलाई तीन दिनसम्म विशेष धुमधामका साथ मनाउँछन् । नेपालमा बसोबास गर्ने अधिकांश जाति समुदायको साझा पर्वको रूपमा रहेको छ माघे संक्रान्ति ।

माघे संक्रान्तिका दिन नेपाली प्रचलनअनुसार तरुल, पिँडालु, चाकु, घ्यू, तिलौरीलगायत खाने गरिन्छ । विशेष गरी तरुल पुस सकिने राति पकाएर माघे संक्रान्तिको बिहान खाने प्रचलन रहेको छ । जसले गर्दा ‘पुसमा पाके माघमा खाके’ पनि भन्ने गरिन्छ । त्यसैले माघे संक्रान्तिमा केही दिन अगाडिदेखि नै तरुल, पिँडालु, सखरखण्ड, चाकु, स्कुसका जराहरूको माग बढी हुने गरेको छ ।

आजको दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रूपमा मनाउँछन् । नेपालका अधिकांश समुदायको साझा चाडको रूपमा रहेको छ माघे संक्रान्ति ।

Published Date: 14 January 2025
ताजा
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एक मतदाता बराबर २८४ रुपैयाँ खर्च
सूर्यविनायकको मन्टेसरी एजुकेशन स्कूलमा भोलि शनिबार निःशुल्क आँखा शिविर आयोजना हुँदै
देशभर भारी वर्षा, हिमपात र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह
अमरज्योति ज्ञानकुञ्जको तेह्रौँ वार्षिकोत्सव: प्रतिभा, मूल्य र भविष्यको उज्यालो सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता