आजदेखि भित्रिंदै दोस्रो हिउँदे वर्षा प्रणाली, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजदेखि भित्रिंदै दोस्रो हिउँदे वर्षा प्रणाली, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, पुस १२ । अहिले देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावस्वरुप यतिबेला (शुक्रबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ ।

देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराई तथा उपत्यका क्षेत्रका थोरै स्थानमा हुस्सु र कुहिरोको लागेको छ । आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र गण्डकी र कोशी प्रदेशका एक–दुई स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहने छ । बिहानको समयमा देशका तराई तथा उपत्य क्षेत्रमा हुस्सु र कुहिरोको समेत सम्भावना रहेको कारण यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

मौसमविद्हरूले यस वर्षको दोस्रो हिउँदे वर्षा प्रणाली शुक्रबार सुदूरपश्चिम क्षेत्रबाट मुलुकमा भित्रिने जनाएका हुन् । पहिलो हिउँदे वर्षा प्रणाली गत सोमबार मुलुकमा प्रवेश गरेको थियो । त्यसैका कारण मंगलबार अपराह्न काठमाडौंमा फाट्टफुट्ट वर्षा भएको थियो । मौसम बुधाबार र बिहीबार भने सफा रह्यो । वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली भई ठाउँ–ठाउँमा हल्का वर्षा हुने सम्भावना छ ।

विभागका अनुसार मौसममा आउने परिवर्तनले तापक्रमसमेत घट्न गई चिसो बढ्न सक्ने छ। गत वर्षको हिउँदमा सुदूरपश्चिम र पश्चिम क्षेत्रमा फाट्टफुट्ट वर्षा भए पनि काठमाडौं उपत्यका र पूर्वी क्षेत्रमा वर्षा गराउने प्रणाली सक्रिय भएन। यस वर्ष भने वर्षायाममा पनि अघिल्लो सालको भन्दा बढी वर्षा भयो । काठमाडौंलगायत केही ठाउँमा वर्षाको नयाँ रेकर्ड बनेको थियो ।

यस वर्ष हिउँदयाम सुरुसँगै क्रमिक रूपमा देशभर तापक्रम घट्दा चिसो बढ्दै गएको छ । चिसो बढेसँगै प्रदूषणको पनि जोखिम देखिएको छ।मौसमविद्हरूका अनुसार जनवरी सबैभन्दा चिसो महिना मानिन्छ । डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई हिउँद याम मान्ने गरिएको छ । प्रदूषणको हिसाबले वर्षा यामभन्दा हिउँद तुलनात्मक रूपमा जोखिमपूर्ण मानिन् छ। हिउँदयाम अर्थात् चिसोमा प्रदूषणको मात्रा बढ्छ, जुन मानव स्वास्थ्यका लागि खतरनाक हुने विज्ञहरू बताउँछन् ।

Published Date: 27 December 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु