तपाई आफ्नो मानसिक स्वास्थ्यका बारेमा सचेत हुनुहुन्छ ?

तपाई आफ्नो मानसिक स्वास्थ्यका बारेमा सचेत हुनुहुन्छ ? : Icon Khabar

काठमाडौँ, पुस १ । पूर्वीय सभ्यताका मूल आधारका रुपमा रहेका धर्मशास्त्रहरुमा वर्णित वा आध्यात्मिक साधक र गुरुहरुले भन्ने गरेका र खासगरी मानसिक स्वास्थ्य तथा स्वयं व्यवस्थापनसम्बन्धी पुस्तकका लेखकहरुले अगाडि सारेका आधारभूत विषयहरुका आधारमा सारांश रुपमा भन्नुपर्दा देहायका १२ वटा विधि वा तरिका वा जीवनशैलीबाट मानसिक रुपमा सन्तुलित र स्वस्थ रहन सकिन्छ:

ब्रम्हमुहुर्तमा नै दिनको सुरुवात गर्नु धेरै किसिमले उपयुक्त छ। बिहान ५ बजे वा सो भन्दा अगावै उठ्नु र दिन शुभारम्भ गर्नु भनेको जीवनलाई सार्थक बनाउने महत्वपूर्ण आधार हो। यसो हुन सक्यो भने आफ्नो काम व्यवस्थित हुने र अरुलाई सहयोग गर्नका लागि समेत समय निस्कने हुन्छ।

बिहानी समयमा शारीरिक अभ्यासका साथै योग, ध्यानसहितको साधना गर्नु श्रेयस्कर हुन्छ। आजकल त अनलाइन माध्यमबाट पनि साधना सम्भव छ। समय मिल्दा १० दिन अवधिको विपश्यना ध्यानमा सहभागी हुन सकियो भने आफ्नो क्षमता र विकारहरुको सूक्ष्म समीक्षा गर्ने अवसर प्राप्त हुन्छ।

समय मिल्नासाथ केही न केही काम प्रकृतिको सानिध्यमा गर्नु राम्रो हुन्छ। खेतीपातीलगायतका घरायसी काम, करेसाबारीसँग सम्बन्धित काम भए झनै राम्रो हैन भने पनि आफू बसोबास गरेको स्थान वरपर उपलव्ध प्राकृतिक स्थलहरु पुग्ने, छतमा बसेर आकाश नियाल्ने, ताल, पोखरी, खोला नजिक पुगेर केही समय बिताउँदा आफु रिचार्ज भएको प्रतित हुन्छ।

उपभोग्य बस्तु र चिजहरु अर्थात नभई नहुने र कम मात्र प्रयोग गर्ने गर्दा जीवन सरल बनेर जान्छ। यो अवधारणालाई कम प्रयोगवाद वा मिनिमालिज्म पनि भनिन्छ। आफूले सकेको सहयोग त आश्रमहरु र अनाथहरुलाई सहयोग गरेर पनि गर्न सकिन्छ।

हाम्रो विचार चल्ने दिमाखमा दुईवटा शाखा छन्। एउटा ज्ञानेन्द्रीयसँग सम्बन्धित चेतन र अर्को कहिल्यै नरोकिने तर बाहिर निष्क्रिय देखिने अवचेतन दिमाग। अवचेतन मनलाई जागृत राख्ने र प्रयोग गर्ने कला सम्बन्धमा सुसूचित भई राति निदाउने बेला र बिहान उठ्ने बखत आफूले गर्न खोजेका सकारात्मक प्रतिज्ञाका विषयहरु चिन्तनमनन गरियो भने अवचेतन मनले ती विषयहरु प्राप्तिमा हरतरहले सहयोग गर्ने मनोवज्ञानिकहरुले बताएका छन्। अवचेतन मनमा चमत्कारिक क्षमता रहेको र प्रयोग गर्न जान्नुपर्ने विचार प्रसिद्ध मनोवैज्ञानिक एवं लेखक जोसेफ मर्फिले राखेका छन्।

आफ्नो रुचिका अध्ययन, सङ्गीत, नाचगान लगायतका विषयमा समय दिनुपर्छ।

नियमित रुपमा पढ्ने तथा पढेको तथा थाहा पाएको कुरा डायरीमा टिपोट गर्ने बानी बसाल्नुपर्छ।

नयाँनयाँ स्थानको भ्रमण गर्ने र ती स्थानका विविध राम्रा पक्षको सम्बन्धमा डायरीमा लेखी राख्नु राम्रो हुन्छ।

मन मिल्ने साथीसँग समय बिताउने, पारिवारिक हिसाबले पनि छलफल गर्ने र आफूमा आएको संवेग तथा मानसिक उतारचढाव सम्बन्धमा भरपर्दो व्यक्तिसँग सेयरिङ गर्नु राम्रो हुन्छ।

दैनिक रुपमा गरिने सानातिना घरायसी कामका साथै आफू संलग्न भएको काम वा पेसा व्यवसायलाई पूरै मन दिएर काम गर्नु नै सफल हुने र खुसी हुने उचित मार्ग हो।

खानपानमा सुधार नगरिकन स्वास्थ्य राम्रो हुँदैन। शारिरीक स्वास्थ्य तथा मानसिक स्वास्थ्य आपसमा अन्तरसम्वन्धित छन् र दुवैका लागि उचित खानपान आवश्यक छ।

समय-समयमा मौन रहने कलाको विकास र अरुको कुरा सुनेर मात्र प्रतिक्रिया दिने बानी भयो भने मानसिक अस्थिरता र बेचैनी हुने सम्भावना घटेर जान्छ।

अरुबाट प्राप्त भएको सहयोगका लागि कृतज्ञ हुनुपर्छ। समय वा सहयोग प्राप्त गर्नु नै अवसरको विषय भएकोले अरुप्रति अहोभाव प्रकट गर्नु आवश्यक हुन्छ। यसबाट थप साथ सहयोग र ऊर्जा प्राप्त हुने पनि सम्भावना बढेर जान्छ।

एउटा व्यक्तिले जीवनमा पूर्णता पाउनका लागि मानवीयता र सामाजिक सद्भाव आवश्यक पर्छ। यसका लागि घरपरिवार र विद्यालयमा समेत यस्तो खालको गुण विकासका लागि सबैजना जागरुक हुनुपर्छ।

सबैभन्दा महत्वपूर्ण कुरा त के हो भने हरेक व्यक्तिले आफ्नो मन र विचारलाई आफ्नो नियन्त्रणमा राख्न सक्नुपर्छ। जुनसुकै घटनाक्रम जीवन भित्रको एक अनित्य पाटोको रुपमा देखापर्ने र दुःख वा सुख दुवैखाले क्षणहरु सधैँका लागि रहँदैनन् भन्ने भाव राख्नु आवश्यक छ।

अन्त्यमा जीवन जिउने क्रममा बेलाबखत तनाव हुनु अनि नैराश्यता आउनु अस्वाभाविक होइन। तर कुनै संवेग हावी हुनासाथ बिचलित हुनु भने समस्या हो। सकारात्मक भावका साथ अरुको सहयोग समेत लिएर काम गर्दै गयो भने तनाव व्यवस्थापन हुन्छ। सेवा भाव र आध्यात्मिक साधनाले पनि मनलाई अस्थिर हुन दिँदैन र अन्तर्हृदयको सन्देश पालना गरी काम गरेमा सबैको भलो हुने अवस्था आउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 December 2024
Website | + posts