भक्तपुरमा आज नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै

भक्तपुरमा आज नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै : Icon Khabar

काठमाडौँ, असोज २४ । बडादशैंको आठौं दिन भक्तपुरमा आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ ।

नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ।

कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।

नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।

दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय हुन गएको र पछि अपभ्रंस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ।

आजै सो समुदायले घरघरमा दशैँको मासु भित्र्याएका छन् । समुदायमा टोल छिमेक मिलेर संयुक्तरुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दशैँको मासु भित्र्याएको हो ।

मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।

Published Date: 10 October 2024
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक