काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा

काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा : Icon Khabar

काठमाडौँ, असोज १४ । काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार अबेर सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्कअनुसार हालसम्मकै धेरै पानी परेको उल्लेख छ ।

विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार बर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पानीपोखरीमा दुई सय छ दशमलव छ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

काठमाडौँ विमानस्थलको वर्षामापन केन्द्रले दुई सय ३९ दशमलव सात मिलिमिटर बर्षा भएको जनाएको छ । बुढानिलकण्ठमा एक सय ७८ दशमलव तीन मिलिमिटर, जितपुरफेदीमा एक सय ७८ दशमलव तीन मिलिमिटर, नागार्जुनमा दुई सय पाँच दशमलव चार मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।

ललितपुरको गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ वर्षामापन केन्द्रले पनि रेकर्ड ब्रेक गर्ने वर्षा भएको मापन गरेको छ । भक्तपुरको नखेल वर्षामापन केन्द्रले एक सय ९४ दशमलव पाँच मिलिमिटर वर्षा भएको मापन गरेको छ ।

ललितपुरको गोदावरीमा तीन सय ११ दशमलव छ, खुमलटारमा दुई सय ९४ दशमलव चार मिलिमिटर, टिकाथलीमा दुई सय ६४ मिलिमिटर वर्षा हुँदा खोकनामा दुई सय ९७ दशमलव तीन मिलिमिटर र चापागाउँमा तीन सय २३ दशमलव पाँच मिलिमिटर बर्षा भएको रेकर्ड गरिएको छ । औसतमा २४ घण्टामा के कति मात्रामा पानी प¥यो भन्ने आधारमा हिसाब निकालिने गरिएको छ । काठमाडौँ उपत्यकामा मात्रै १७ स्थानमा वर्षामापन केन्द्र छन् । ती केन्द्रले विवरण रेकर्ड गर्छन् ।

असोज १२ गतेको २४ घण्टाको विवरण हेर्दा १४ जिल्लाका २५ स्थानमा सबैभन्दा बढी पानी परेको छ । एकैपटक आरीबाट घोप्ट्याए जसरी वर्षा हुँदा ठूलो जनधनको क्षति हुन पुगेको हो । विभागका अनुसार सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा चार सय १० मिलिमिटर मापन गरिएको छ । यस्तै काभ्रेपलाञ्चोकको खोपासी मापन केन्द्रमा तीन सय ३१ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ ।

विगतमा जुलाई, अगस्टमा धेरै वर्षा हुने गरेको थियो । पछिल्ला वर्षहरुको विवरणअनुसार सेप्टेम्बरमा बढी वर्षा हुने गरेको छ । विभागका अनुसार पछिल्ला सात वर्षको विवरण हेर्ने हो मनसुनको सुरुवाती चरण र अन्त्यतिर रेकर्ड ब्रेक गर्ने खालको वर्षा हुन थालेको छ । यो जलवायु परिवर्तनको असरका रुपमा लिन सकिने यस क्षेत्रका जानकारहरुको भनाइ छ ।

विभागले उपलब्ध गराएको विवरण अनुसार सन्धिखर्कमा एक सय ९६ दशमलव छ, चितवनको गोविन्दबस्तीमा दुई सय ६४, धादिङको गजुरीमा दुई सय ६१ दशमलव दुई, झापाको चन्द्रगढीमा दुई सय ५६, काभेपलाञ्चोकको पाँचखालमा दुई सय ३२ दशमलव पाँच, धुलिखेलमा दुई सय २४ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । नुवाकोटको ककनीमा एक सय ६९ दशमलव दुई, सिन्धुपाल्चोको बाहुनेपाटीमा एक सय ९० दशमलव छ, मकवानपुरको दामनमा चार सय १० मिलिमिटर वर्षा भएको छ । पाल्पाको बल्ड्याङगढीमा दुई सय ५२, पाँचथरको फिदिममा एक सय ७२, तनहुँको सखरमा दुई सय १४ र तनहुँको खैरनीटारमा दुई सय ५२ दशमलव तीन मिलिमिटर बर्षा मापन भएको छ ।

वर्षाको प्रवृत्तिमा आएको बदलाव, पूर्वतयारी र जोखिम न्यूनीकरण गर्ने उपायको खोजी गर्न नसक्दा ठूलो क्षति हुन पुगेको तथ्यलाई आत्मसात् गरेर आगामी दिनमा सावधानी अपनाउनु नै अहिलेको प्रमुख कार्यभार हुन जान्छ । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 September 2024
Website | + posts