आजको मौसम पूर्वानुमान: मेघगर्जनसहित बर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान: मेघगर्जनसहित बर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, असोज ८ । आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन / चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यतिबेला (मंगलबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली  छ । कोशी, बागमती र मधेस प्रदेशका एक–दुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती र गण्डकी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी , गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 September 2024
Website | + posts