देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ

देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ : Icon Khabar
तस्बिर: न्यू विजनेस एज

काठमाडौं, असोज ४ । देशको सार्वजनिक ऋण लगातार चुलिंदै गएको छ । देशको आम्दानीको तुलनामा खर्च धेरै भएपछि पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार लगातार बढिरहेको छ । चालु आर्थिक वर्ष (आव) २०८१–८२ को पहिलो महिना २ महिना अर्थात साउन र भदौमा गरेर १ खर्ब ४ अर्ब सार्वजनिक ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन र भदौमा गरेर ९० अर्ब आन्तरिक ऋण र १४ अर्ब ५ करोड बाह्य ऋण थपिएको हो । २०८१ असार मसान्तसम्म २४ खर्ब ३१ अर्ब ३३ करोड रहेको सार्वजनिक ऋणको दायित्व भदौ मसान्तसम्म आइपुग्दा २५ खर्ब २८ अर्ब ६२ करोड पुगेको छ । यस अवधिमा तिर्न बाँकी ऋणको दायित्व ९४ अर्ब ५२ करोड थप भएको छ ।

यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ । असार मसान्तसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५० अर्ब ४३ करोड थियो ।

कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४४.३२ प्रतिशत कायम भएको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा आन्तरिक ऋण २१.६६ तथा बाह्य ऋण २२.६६ प्रतिशत कायम भएको छ । अहिले नेपालको जीडीपी ५७ खर्ब ४ अर्ब रुपैयाँ बराबर छ ।

सरकारले चालु वर्षमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। त्यस्तै, २ खर्ब १७ अर्ब वैदेशिक ऋण आउने अनुमान गरेको छ। चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा भदौ मसान्तसम्ममा १ खर्ब ४ अर्ब ५ करोड ऋण प्राप्ति भएको छ ।

भदौसम्मा ९० अर्ब आन्तरिक ऋण र १४ अर्ब ५ करोड बाह्य ऋण प्राप्ति भएको हो । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति १९.०२ प्रतिशत छ । जसमा आन्तरिक ऋण प्राप्ति २७.२७ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ६.४८ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष २०८१-८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब वार्षिक बजेट रहेकोमा भदौ मसान्तसम्म ४७ अर्ब ७१ करोड ५१ लाख भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ११.८४ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ०.८४ प्रतिशत हो । यस वर्ष सरकारले ऋण तिर्न ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जुन पुँजी गत खर्चभन्दा धेरै हो ।

यसै अवधिमा सरकारले ४२ अर्ब २ करोड आन्तरिक ऋणको भुक्तानी गरेको छ । जसमा ३५ अर्ब साँवा तथा ७ अर्ब २ करोड ब्याज भुक्तानी गरेको हो । त्यस्तै यसअवधिमा ५ अर्ब ६८ करोड बाह्य ऋण भुक्तानी गरेको छ । जसमा साँवा ४ अर्ब ६७ करोड तथा ब्याज १ अर्ब १ करोड रहेको छ ।

यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमध्ये ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड ऋण जुटाइने बजेटमा उल्लेख छ।

प्रतिव्यक्ति ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ

सार्वजनिक ऋणको आकारलाई सजिलोसँग बुझाउन देशको जनसंख्यासँग तुलना गर्ने चलन छ । तथ्यांक अनुसार चालु आव साउन मसान्तसम्ममा प्रतिव्यक्ति ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ पुगेको छ । यस अवधिसम्मको कुल २५ खर्ब २८ अर्ब ६२ करोड सार्वजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ ।

पछिल्ला केही वर्षयता सार्वजनिक ऋणको साँवाब्याज भुक्तानी दायित्व निरन्तर बढ्दै गएको छ । जसका कारण सरकारले पुँजीगत खर्चभन्दा वित्त व्यवस्थापनमा धेरै बजेट विनियोजन गर्नुपरेको जानकारहरू बताउँछन् । सरकारले चालु बजेटमा पनि पुँजीगत खर्चभन्दा वित्त व्यवस्थापनमा झण्डै १५ अर्ब धेरै बजेट विनियोजन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ ।

हरेक वर्ष बजेटको आकार बढ्दै गएकाले सार्वजनिक ऋणको आकारसमेत बढ्दै गएको छ । यसो हुँदा सार्वजनिक ऋणको साँवा भुक्तानी वार्षिक वृद्धिदर बढ्दै गएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 September 2024
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित