अव्यवस्थित सालिकले ट्राफिक व्यवस्थापनमा सकस

अव्यवस्थित सालिकले ट्राफिक व्यवस्थापनमा सकस : Icon Khabar

गण्डकी, भदौ २९ । पोखराका मुख्य चोक र सडकमा रहेका अव्यवस्थित सालिकका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ । सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र सहरी सौन्दर्यलाई दृष्टिगत गरी एक वर्षअघि सालिक व्यवस्थापन तथा स्थानान्तरण गर्ने निर्णय गरेकामा कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापन सकसपूर्व बन्दै आएको हो ।

पोखरामा पर्यटकको आगमन बढ्नुका साथै बढ्दो जनघनत्व र सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएकाले मुख्य सडक र चोकमा रहेका सालिक अन्यत्र स्थानान्तरण गर्नुपर्ने निर्णय भएको थियो । विसं २०८० साउनमा पोखरा महानगरपालिकाको अगुवाइमा बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले व्यस्त सडकमा भएका सालिक पोखरा–१८ जामुनबोटस्थित सहिद तथा विभूति उद्यानमा सार्ने निर्णय गरेको थियो ।

पोखरा–१ का वडाध्यक्ष सहारा प्रधानले महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकार भएका सङ्घ संस्थासँगको समन्वयमा एक महिनाभित्र सालिक व्यवस्थापन गर्ने भनिएकामा एकवर्षसम्म पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको बताइन् । ‘महानगरभित्रका सबै चोक र सडकमा रहेका सालिक जामुनबोटको सहिद उद्यानमा स्थानान्तरण गर्ने निर्णय भएकामा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन’, उनले भनिन्, ‘सालिक सार्ने विषयमा पछिल्लो समय महानगर कार्यपालिकाको बैठकमा छलफल पनि भएको छैन ।’  वडा नं १ हरिचोकमा सहिद हरिप्रसाद गुरुङको सालिक छ । वडाध्यक्ष गुरुङले सालिक व्यवस्थापन र स्थानान्तरण गर्ने कार्यमा सर्वदलीय र सर्वपक्षीय सहमति आवश्यक पर्ने भन्दै यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरिन् ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले दीर्घकालीन रुपमा सालिकको व्यवस्थापन गर्नुपर्ने बताए । ‘सालिक राखिएका स्थानमा ती संरचना नहुँदा सडक फराकिलो हुन्छ, व्यस्त चोकमा सालिकको ठाउँमा ट्राफिक आइल्याण्ड राख्न सकियो भने सवारी व्यवस्थापनमा पनि सहजता थपिन्छ’, उनले भने, ‘सालिक भएकाले कतिपय स्थानमा ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भइरहेकाले यसको दीर्घकालीन समाधान गर्न महानगरले योजना बनाउनु पर्छ ।’

अधिकांश सालिक राजमार्गका मुख्य चोकमा अवस्थित रहेका बताउँदै बढ्दो सवारी चाप र पार्किङ अभावका कारण पछिल्लो समय पोखराको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको प्रमुख शर्माले उल्लेख गरे । ‘कतिपय ऐतिहासिक व्यक्तित्वका सालिक रहेका ठाउँमा उनीहरुका जयन्ती वा अन्य कार्यक्रममा मानिसको घुइँचो हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम पनि बढ्छ’, उनले भने ।

छ वर्षअघि सडकका सालिक हटाउन खोज्दा विभिन्न सङ्घसंस्था र समूहबाट विरोध भएपछि महानगरले जामुनबोटमा महानगरभित्रका सबै सालिक व्यवस्थापन गर्नेगरी सहिद तथा विभूति उद्यान निर्माण गरेको थियो । उक्त उद्यानमा पृथ्वीनारायण शाह, रवीन्द्र अधिकारी, भीमसेन दाहाल, योगेन्द्र शेरचनलगायतका सालिक राखिएका छन् । पोखराको व्यस्त पृथ्वीचोक, अमरसिँहचोक, विरौटाचोक, हरिचोकलगायत ठाउँमा अहिले पनि राष्ट्रिय विभूतिदेखि साहित्यकारसम्मका सालिक छन् । कतिपय सालिक संरक्षण र रेखदेखको अभावमा जीर्ण बन्दै गएका छन् ।

पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार भइरहेकाले सालिक केही ठाउँका सालिक तत्कालन व्यवस्थापन गर्नुपर्ने छ । पोखरा–१० अमरसिँहचोकमा रहेको राष्ट्रिय विभूति अमरसिँह थापा र वडा नं १६ अर्घौचोकमा रहेको साहित्यकार लेखनाथ पौडेलको सालिक सोही सडक खण्डमा पर्दछ छ । वडा नं ९ पृथ्वीचोकमा अहिले सहिद लखन थापाको सालिक छ । दोस्रो जनआन्दोलनका बेला पृथ्वीनारायण शाहको सालिक तोडफोड भएपछि उक्त स्थानमा लखन थापाको सालिक राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 September 2024
Website | + posts