गोसाइँकुण्डकै प्रतीक मानिने भक्तपुरको प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि भक्तजनको घुइँचो

गोसाइँकुण्डकै प्रतीक मानिने भक्तपुरको प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि भक्तजनको घुइँचो : Icon Khabar

भक्तपुर, भदौ ३ । जनैपूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला लागेको छ । भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको गोसाइँकुण्डकै प्रतीक मानिने प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरबार स्क्वायरस्थित शिलु महादेव (फसी देगः)को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।

नेवार समुदायले गुन्हीपुन्ही पर्वमा नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् ।

क्वाटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत नौ थरी गेडागुडीको मिश्रणबाट तयार गरिन्छ ।

रोपाइँ र धानबाली गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाटी खाने प्रचलन रहेको छ ।

आज नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरू प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् ।

वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको चाना र विशेष प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर धानखेत र पानीको स्रोत भएका ठाउँमा गई भ्यागुतालाई पूजा गरी भोजन गराउने परम्परा रहेको छ ।

Published Date: 19 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास