एएफसी च्यालेन्ज लिगको लागि दुवै टोली तयार

एएफसी च्यालेन्ज लिगको लागि दुवै टोली तयार : Icon Khabar

काठमाडौं, साउन २८ ।  सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीच भोलि साँझ एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल दशरथ रंगशालामा हुँदैछ।

खेल अगाडि आज भएको प्री म्याच कन्फरेन्समा दुवै टिमले उत्कृष्ट नतिजाको लागि टिम तयार रहेको बताएका छन्। चर्च ब्वाइजले तयारी छोटो भएपनि खेलको लागि टोली तयार रहेको बताएको छ। ३ साताको प्रशिक्षणपछि चर्च ब्वाइज पारोसँगको खेलका लागि तयार भएको हो।

चर्च ब्वाइजले यो खेलको लागि राष्ट्रिय टोलीका खेलाडीहरूलाई टिममा अनुबन्ध गरेको छ। क्षमता अनुसार खेल्यो भने राम्रो नतिजा निकाल्न सक्ने प्रशिक्षक बाल गोपाल महर्जनले बताए।

त्रिभुवन आर्मी फुटबल क्लबसँग एक र यु-२० टिमसँग अभ्यास खेल खेलेर टिमको कम्बिनेसन मिलाउन सहयोग पुगेको बताए ।

घरेलु टोली चर्च ब्वाइजले खेल अगाडि दशरथ रङ्गशालामा अफिसियल प्रशिक्षणको अवसर समेत पाएन। यस विषयमा प्रशिक्षक महर्जनले संरचनाको अभाव रहेको बताए। प्रशिक्षणको लागि समेत अप्ठ्यारो स्थिति रहेको जिकिर गरे।

तर कप्तान अनन्त तामाङले रंगशाला खेल्ने अनुभव भएकोले असर नगर्ने र टिम फिजिकली, मेन्टली तयार रहेको प्री म्याच कन्फरेन्समा बताए। पारोमा रहेका स्टार खेलाडी जापानी केसुके होन्डा र अन्य विदेशी खेलाडीले टिमलाई दबाब नरहेको भन्दै टोलीको योजना अनुरूप खेल्ने जानकारी दिए। साथै उनले यो पटक विदेशी भन्दा स्वदेशी खेलाडीमाथी विश्वास गरेको पनि जिकिर गरे।

पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ। उसले जापानका पूर्व स्टार होन्डालाई टिममा भित्राएको छ। होन्डाले ३ पटक विश्व कप खेलिसकेका छन्। उनी एसियाकै स्टार खेलाडी हुनो। होन्डाको आगमनसँगै टिम मजबुत बनेको बुझाई छ।

तयारी राम्रो भएकोले उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक पुष्पलाल शर्माले बताए। नेपाल आएसँगै चुनौतीहरूको सामना गरिरहेको भन्दै दशरथ रङ्गशालाको स्तर उपयुक्त नभएको बताए। उनले खुलेर नै मैदानको आलोचना गरे। नेपालमा लिग नभएको कारण राष्ट्रिय टिमका अधिकांश खेलाडी रहेको र चर्च ब्वाइजलाई नेपालको राष्ट्रिय टोली बराबर मान्न सकिने बताए।

होन्डा मात्र होइन यो पटक पारो कुल ११ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ। क्लबले गरेको लगानी अत्याधिक छ। यही कारण टिमलाई जित्नै पर्ने दबाब समेत छ।

गत वर्ष पनि पारो एफसी कप छनौट खेल्न नेपाल आएको थियो। त्यतिखेर मछिन्द्र क्लबसँग पारजित भएको थियो। यो पटक भने टिम कागजमा निकै मजबुत देखिएको छ। खेल दशरथ रंगशालामा मंगलवार साँझ ६ बजे सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 August 2024
Website | + posts