आजको मौसम पूर्वानुमानः मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

आजको मौसम पूर्वानुमानः मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन आग्रह : Icon Khabar

काठमाडौं, असार २१ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।​ जलसतह बढ्दो क्रममा रहेको भन्दै नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो पाँच दिनदेखि सक्रिय रहेको मनसुनी प्रणाली आगामी आइतबारसम्म सक्रिय रहने छ । न्यूनचापीय रेखा नेपालको दक्षिण भूभाग-सीमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले आइतबारसम्म सतर्कता अपनाउनुपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले धेरै वर्षा हुने आकलन गरिएका लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ रहेका छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ ।

कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ । विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ । सो न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 July 2024
Website | + posts


ताजा
प्रतिनिधिसभाको आज बस्ने बैठकमा निजामती विधेयक पेस हुने
आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नि:शुल्क बस सेवा सञ्चालनमा
सुनको मूल्य प्रतितोला पुनः १ लाख ९० हजार पार गर्यो
कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने, वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाव
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग