चौंथो पटक प्रधानमन्त्री बन्दै ओली, आजै नियुक्तिको तयारी

चौंथो पटक प्रधानमन्त्री बन्दै ओली, आजै नियुक्तिको तयारी : Icon Khabar

काठमाडौं, असार १८ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँगको सोमबार मध्यरातिको सहमतिअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौंथो पटक प्रधानमन्त्री बन्ने भएका छन् । दुई ठूला दलबीच सोमबार मध्यराति भएको सहमति अनुसार आजै (मंगलबार) राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

ओली पहिलो पटक २४ असोज ०७२ मा प्रधानमन्त्री बनेका थिए । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले त्यतिबेला १० महिना सरकार सञ्चालन गरेका थिए । ३० असार ०७३ मा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओलीले ९ साउनमा संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएका थिए ।

०७४ मा एमाले–माओवादीसहित वाम गठबन्धन बनाएर चुनावमा गएका थिए । झण्डै दुई तिहाइ नजिकको बहुमत ल्याएर ओली दोस्रो पटक ३ फागुन ०७४ मा प्रधानमन्त्री भए । त्यतिवेला पनि ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो । ०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भयो ।

तर, आलोपालोको सहमति कार्यान्वयन भएन । बरु, नेकपाभित्रको विवाद चुलियो । पार्टीभित्रै कमजोर बनेपछि ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे । तर, सर्वोच्च अदालतले ११ फागुन ०७७ मा विघटन असंवैधानिक भन्दै पुनर्स्थापना गरिदियो । लगत्तै, २३ फागुनमा एमाले र माओवादी पूर्ववत् ब्युँतिने फैसला गर्‍यो । त्यसपछि माओवादीले समर्थन फिर्ता लियो र ओली सरकारले २७ वैशाख ०७८ मा सदनमा विश्वासको मत गुमायो । दोस्रो पटक ओलीले तीन वर्ष तीन महिना सरकार चलाए ।

ओली सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी थिइन् । त्यसका लागि ३० वैशाख ०७८ राति ९ बजेसम्मको समय दिइएको थियो । तर, कुनै पनि दलले बहुमत पुर्‍याउन नसकेको भन्दै राष्ट्रपतिले ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गरिन् । यद्यपि, त्यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

तेस्रो पटक नियुक्त भएका प्रधानमन्त्री ओलीले ८ जेठ ०७८ मा फेरि प्रतिनिधिसभा विघटन गरिदिए । त्यसविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । २८ असार ०७८ मा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्‍यो । ओली यतिखेर दुई महिना प्रधानमन्त्री भएका थिए । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ । सो सहमतिमा गए राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर भएको हो ।

सहमतिमा एमाले अध्यक्ष ओलीले शुरुको दुई बर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ । त्यस्तै देउवा र ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन संयुक्त रुपमा आह्वान गर्ने सहमति भएको छ भने निर्वाचन प्रणाली परिवर्तनसहित संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी काम गर्न कांग्रेस र एमालेले सहमति गरेका छन् । सुरुमा नेतृत्व गर्ने एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति दुई दलबीच भएको छ । यससँगै प्रदेश सरकारमा पनि दुई दलले ३ ३ प्रदेश बाँडेर लिने सहमति गरेका छन् ।

१. ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।

२ .प्रदेश सरकारहरुमा एमालेले कोशी, लुम्बिनी र कर्णाली तथा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने । त्यस्तै मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दललाई नै नेतृत्व दिने ।

३. संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।

४. प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको सिटसंख्या बारे पुनर्विचार गर्ने ।

५. पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।

६.संविधान पुनरावलोकन गर्न पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।

७. प्रदेश सभामा समानुपातिकतर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 July 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित