भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभा सुरू, सांसद सुवालद्वारा उद्घाटन

भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभा सुरू, सांसद सुवालद्वारा उद्घाटन : Icon Khabar

भक्तपुर, असार ७ । भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभा आजबाट सुरू भएको छ। नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभाको आज एक समारोहबीच दीप प्रज्ज्वलनका साथ उद्घाटन भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले जनताको गाँस, बाँस र रोजगारीको बन्दोबस्त हुनु नै सहिदहरुको सपना पूरा हुनु हो भन्दै नीति तथा कार्यक्रमको सफलतापूर्वक कार्यान्वयनतर्फ नगरपालिकाले जोड दिनुपर्ने बताए।

उनले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले आआफ्नो निर्वाचन क्षेत्रमा बसी त्यस ठाउँको विकासतर्फ जोड दिनुपर्ने बताउँदै कृषिजन्य खाद्यान्न विदेशबाट आयात रोक्न कृषि क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए।

नेपाल—भारतबीचको खुल्ला सीमा नियमित गरिनुपर्ने बताउँदै दुई देशबीचको खुल्ला सीमा बन्द भयो भने मात्र नेपालको धेरै समस्या समाधान हुने उहाँले प्रष्ट पारे।

प्रधानमन्त्री कार्यकारी प्रमुख भएको हुँदा प्रधानमन्त्रीको निर्देशन पालना नगर्नेहरुलाई बर्खास्त गर्नुपर्छ भन्दै उहाँले नेपालको प्राकृतिक स्रोतसाधन नेपाललाई नै अपुग भएको हुँदा विदेशीलाई बेच्न नहुने धारणा राखे।

भक्तपुर नपाले नगरपालिकाभित्र दर्ता नभएका सहकारी संस्थाहरु सञ्चालनमा रोक लगाउनुपर्नेमा जोड दिंदै उनले समस्याग्रस्त सहकारी संस्थाहरुको अनुगमनमा सम्बन्धित निकायले क्रियाशीलता देखाउनुपर्छ भनेका थिए।

उनले संघ र प्रदेशहरुले स्थानीय तहहरुको विकास निर्माणको काममा हस्तक्षेप गर्न नहुने धारणा राख्दै विकास निर्माणमा स्थानीय जनताको सहभागिता, श्रमदानसहितको उपभोक्ता समितिमार्फत आर्थिक अनुशासन, मितव्ययी र पारदर्शी रुपमा सम्पन्न गर्नुपर्छ भनेका थिए।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भक्तपुर नगरको चौतर्फी विकासको निम्ति नगरपालिकाले गरेका हरेक कार्यमा नगरबासीहरूको सधै साथ र सहयोग प्राप्त हुँदै आएको स्मरण गरे ।

सोही क्रममा नगरको विकासको निम्ति विगतदेखि वर्तमानसम्म विभिन्न भूमिकामा रही प्रत्यक्ष र अप्रत्यक्ष साथ र सहयोग गर्ने सबैमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा बोल्दै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले विभिन्न सीपमूलक तालिम, युवा उद्यामशील ऋण प्रवाह गरी युवाहरुलाई व्यवसाय गर्न प्रोत्साहन गर्दै आएको बताउँदै उनले नगरपालिकाबाट प्रवाहित सेवा सुविधा प्रविधिमैत्री बनाउने आवश्यक तयारी भइरहेको बताईन्।

नगरको शान्तिसुरक्षा अझ प्रभावकारी बनाउन नगरप्रहरीको व्यवस्था गर्दै आएको बताउँदै उहाँले नगरपालिकाको कर संकलन, नक्सा पास, आर्थिक र प्रशासनिक व्यवस्थामा समेट सफ्टवेयर प्रयोग गरी प्रविधिमैत्री सेवा प्रवाहको व्यवस्थाको लागि तयारी भइरहेको अवगत गराईन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत अशोककुमार पोखरेल, भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीकुमारी श्रेष्ठ, ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल लगायतले मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 June 2024
Website | + posts