कोशीका मुख्यमन्त्री कार्की पदमुक्त, नयाँ सरकार गठनका लागि आह्वान

कोशीका मुख्यमन्त्री कार्की पदमुक्त, नयाँ सरकार गठनका लागि आह्वान : Icon Khabar

विराटनगर, वैशाख २७ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पदमुक्त भएका छन्। कार्कीलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका छन्। सरकार गठनका लागि खापुङले वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत् प्रदेशसभाका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको र त्यसबारे प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनेसम्बन्धी कुनै प्रस्ताव प्रदेशसभामा दर्ता नभएको भन्दै बहुमत प्राप्त गर्न सक्ने कोही पनि सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न भनेको छ। एमाले र माओवादीले पेस गरेको संकल्प प्रस्ताव वैशाख ७ को प्रदेशसभा बैठकले पारित गरेको थियो।

कार्की असोज २८ गते संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। कांग्रेसभित्रै विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका सांसदहरूले समर्थन गरेका थिए। फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन गरेपछि कार्की नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको थियो। गत चैत २६ मा एमाले र माओवादी सरकारबाट बाहिरिएपछि उनी अल्पतमा परेका थिए। तर मुख्यमन्त्री कार्कीले संविधानबमोजिम भन्दै विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा थिए।

तर, एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव पारित गर्नेदेखि प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराउनेसम्म चलखेल गरेपछि मुख्यमन्त्री कार्की पदमुक्त भएका हुन्। कार्कीलाई उनकै दल नेपाली कांग्रेसले समेत राजीनामा दिन पटक पटक निर्देशन गरेको थियो।

Published Date: 09 May 2024
ताजा
सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढ्यो
बिस्का जात्राका लागि अव्यवस्थित रूपमा फैलिएका केबल तथा तार हटाइने
पुनःनिर्माणपछि पुनर्जीवित: खौमास्थित श्री इन्द्रायणी द्योछेँको ऐतिहासिक सौन्दर्य
भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनमा सडक विस्तारको प्रगति ३ वर्षमा ६७ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता