सुदूरपश्चिम सरकारमा दाबी गर्ने दोस्रो म्याद आज सकिँदै, एमालेको अडानले गठबन्धनमा अन्योल

सुदूरपश्चिम सरकारमा दाबी गर्ने दोस्रो म्याद आज सकिँदै, एमालेको अडानले गठबन्धनमा अन्योल : Icon Khabar

कैलाली, वैशाख ६ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको दोस्रो पटकको समय पनि आज (बिहीबार) सकिँदै छ । प्रदेश प्रमुख नाजिर मियाले आज साँझ ५ बजेसम्म सरकारमा दाबी पेस गर्ने समय सीमा दिएका थिए ।

केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमलबहादुर शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ । यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए । सत्ता गठबनधनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ ।

सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भए पनि फेरि अर्को किचलो सुरु भएको छ । समाजवादीले मुख्यमन्त्रीमा अघि सारेका सोडारीको नाममा एमालेले असहमति जनाएपछि गठबन्धनबाट बुधबार मुख्यमन्त्रीमा दाबी पेस हुन सकेन ।

केन्द्रमा गठबन्धनका शीर्ष नेताबीच मंगलबार सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । सो सहमतिपछि संसदीय दलको बैठकले सोडारीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । उनी बुधबार बिहान दाबी पेस गर्ने तयारीमा थिए । तर, सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले नेताहरू तयार नभएपछि दाबी परेन ।

मुख्यमन्त्रीमा दाबी पेस गर्न गठबन्धनका दलहरू दिनभर एमालेलाई पर्खेर बसेका थिए । तर, पार्टी केन्द्रबाट सोडारीलाई समर्थन नगर्न संकेत पाएपछि प्रदेशमा एमाले नेताहरू बुधबार गठबन्धनको छलफलमै गएनन्  । पार्टी केन्द्रको निर्देशन नआएको भन्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल सोडारीलाई मुख्यमन्त्री बनाउने सहमतिपत्र दिन तयार भएनन् ।

एमालेले नेकपा एसबाट सोडारी बाहेक अन्य जुनसुकै सांसदलाई अघि सार्दा स्वीकार गर्ने बताएको छ । सोडारी र एमाले नेताहरूबीच पार्टी विभाजनका क्रममा तिक्त सम्बन्ध थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । कांग्रेसका १८ (एक जनाको निधन), माओवादी सभामुखसहित ११, एमाले उपसभामुखसहित १०, नागरिक उन्मुक्ति पार्टी ७ (५ जना रेशमतिर, २ जना रञ्जिता तिर), समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ गरी ५२ जना प्रदेश सभा सदस्य छन् ।

Published Date: 18 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी