विभिन्न रंगहरुको उत्सव फागु पूर्णिमा अर्थात होली

विभिन्न रंगहरुको उत्सव फागु पूर्णिमा अर्थात होली : Icon Khabar
Photo Courstesy: Click Nepal

काठमाडौं, चैत ११ । आज चैत ११ गते आइतवार फागुन शुक्ल चतुर्दशी (पूर्णिमा व्रत भने आजै) भए पनि काठमाडौं उपत्यका, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व आजै मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तराईमा भने भोलि चैत १२ गते सोमवार होली मनाईँदैछ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारेर ठड्याइएको चीरमा पूजाआजा गरेपछि औपचारिक रुपमा फागु प्रारम्भ हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ ।

सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तरिकाले होली खेल्न प्रहरीको आग्रह छ । होली पर्वका नाममा उछृङ्खल क्रियाकलाप नगर्न पनि प्रहरीको अनुरोध छ । अपरिचित मानिसहरूको समूहमा पनि होली नखेल्न प्रहरीले अनुरोध गरेको छ ।

‘कसैको इच्छा विपरीत रङ, लोला, मोसो, केमिकल, फोहोर पानी र छाला आँखामा असर हुने गरी रङ नलगाउनु होला,’ प्रहरीले भनेको छ– ‘ट्राफिक नियमको पूर्ण पालना गरौँ । मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ । भिडभाड हुने स्थानमा पाकेटमारी लुटपाट हुने सम्भावना बढी हुँदा सावधान रहनु होला ।’

यसैबीच, युवापुस्ताले हर्षोल्लासका साथ मनाउने यो पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतवार राजधानीका ९० स्थानमा सवारी जाँच गर्ने तयारी गरेको छ । होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन ट्राफिकले यस्तो व्यवस्था गर्न लागेको हो ।

ट्राफिकले बिहान ७ बजेदेखि सवारी जाँच गर्ने र जसका लागि नौ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गर्ने बताएको छ । उपत्यकाका तीन वटै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने र उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ ।

दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजना बमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्न लागिएको हो ।

होलीमा अनावश्यक हर्न बजाउने, नियम विपरित सवारी साधन चलाउने, हेल्मेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने ट्राफिकको भनाई छ ।

ट्राफिकले ३० ओटा मोबाइल भ्यान परिचालन गरिने र आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राख्ने प्रहरीको तयारी गरेको छ । यसका साथै मादक पदार्थ र लागुपदार्थ सेवन गरेर सवारी चलाउनेलाई ट्राफिकले विशेष निगरानी गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2024
Website | + posts