नेप्से घटेपनि आज बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य पछिल्ला ८ कारोबार दिनदेखि उच्च दरमा बढीरहेको छ। त्यस्तै, चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्था र मोलुङ्ग हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
२३.८० प्रतिशत बोनस शेयर वितरणपश्चात २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने घोषणा गरेको सन नेपाल लाइफ इन्स्योरेन्स भने आज कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २५ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, जोशी हाइड्रोपावर र हिमालयन रि इन्स्योरेन्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक आज सर्वाधिक २.४२ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।