अभिनेता दयाहाङ राईको नयाँ फिल्म ‘डिग्री माइला’ को टीजर सार्वजनिक

अभिनेता दयाहाङ राईको नयाँ फिल्म ‘डिग्री माइला’ को टीजर सार्वजनिक : Icon Khabar

काठमाडौं, फागुन ८ । अभिनेता दयाहाङ राईको अर्को एउटा नयाँ फिल्म दर्शकमाझ आउन तयार भएको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर प्रदर्शन हुने फिल्म ‘डिग्री माइला’ को टीजर सार्वजनिक भएको छ ।

रामबाबु गुरुङद्वारा निर्देशित यो फिल्मको सार्वजनिक टीजरले छोटो समयमै दर्शकको मन जितेको छ । सोमवार दिउँसो सार्वजनिक भएको टीजरले मंगलवार बिहानसम्म झण्डै तीन लाख पटक हेरिसकिएको छ भने आठ सय बढी प्रतिक्रिया पाएको छ ।

टीजरमा आएका अधिकांश प्रतिक्रियामा दयाहाङ राई र रामबाबु गुरुङको आगामी ब्लकबष्टर फिल्मलाई शुभकामना दिइएको छ भने अभिनेत्री आँचल शर्मासंग दयाहाङको जोडी सुहाएको प्रतिक्रिया दिइएको छ ।

टीजरमा फिल्मका शीर्ष पात्र अर्थात डिग्री माइला बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ ।

टीजरमा दयालाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको पनि देखाइएको छ । टीजरको उत्तराद्धमा दयाहाङले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाख रुपैयाँको जागिर प्रस्ताव लत्याएको भनिरहेको दृश्यसमेत समावेश गरिएको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री उत्तिर्ण भएका एक शैक्षिक बेरोजगारको कथा प्रस्तुत गरेको छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ ।
यो फिल्म सोही नामको नाटकमा आधारित रहेको छ।

साढे तीन मिनेट लामो टीजरमा दयाहाङले आफू सन् २०११ को अंग्रेजी साहित्यको ब्याच टपरका रुपमा दावी गरेको देखाइएको छ । रमाइलो शैलीमा प्रस्तुत गरिएको टीजरले ट्रेलर तथा फिल्मप्रति दर्शकको रुचि बढाउने स्पष्ट संकेत गर्दछ ।

बाँसुरी फिल्म्सले कबड्डी फिल्म्स तथा सुष्मा फिल्म्ससंग मिलेर यो फिल्म निर्माण गरेको हो ।

यो फिल्ममा दयाहाङ र आँचल शर्मासहित विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणि नेपाल, बुद्धि तामाङ आदि कलाकारको अभिनय छ ।

यो फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

यो फिल्ममा नेमिष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ। यो फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2024
Website | + posts