सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच सीमा विवाद : समाधान लागि दुवै मुख्यमन्त्रीबीच छलफल

सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच सीमा विवाद : समाधान लागि दुवै मुख्यमन्त्रीबीच छलफल : Icon Khabar

टीकापुर, पुस ७ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ ।

छलफलपछि सीमा विवाद, कर्णाली नदीको नदीजन्य वस्तुको उपभोग संरक्षणमा उत्पन्न समस्या समाधान गर्न दुवै प्रदेशका मुख्य सचिव र संवाद समूहका वरिष्ठ सहजकर्तासहित तीन सदस्य टोली गठन भएको छ । टोलीले आगामी फागुन १२ गतेभित्र विज्ञ टोली गठन गर्न कार्यक्षेत्रगत शर्तनामा ‘टिओआर’ बनाएर दुवै प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने सहमति भएको छ । बर्दियाको ठाकुरद्वारामा भएको छलफलमा दुवै प्रदेशका मुख्यसचिव, वन वातावरण र भूमि सुधारमन्त्री तथा प्रदेश सांसदको उपस्थिति थियो ।

यसैगरी छलफलमा दुवै प्रदेशका कैलाली टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिका गरी तीन र बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत, बर्दिया र कैलालीका नापी प्रमुखको सहभागिता थियो । कर्णाली नदीका कारण बर्दिया र कैलालीमा सीमा विवाद वर्षाैंदेखि रहेको छ । नदीले निरन्तर धार परिवर्तन गर्दा र नापी पनि नभएका कारण दुवै जिल्लाका बासिन्दाले जग्गा आफ्नो सीमामा पर्ने दाबी गर्दै आएका छन् । सीमाको सबैभन्दा बढी विवाद टीकापुर–८ र राजापुर नगरपालिका–४ मा छ ।

राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारु कार्यदल बनाएर विवाद टुङ्ग्याउन थालेको बताउँछन् । ‘कैलालीतिर जङ्गल क्षेत्र, बर्दियामा गाउँ नै नदीमा परेको अवस्था छ । यो आफ्नै देशको सीमा भएकाले विवाद गर्नुभन्दा सहमतिमा टुङ्ग्याउनुपर्छ भन्नेमा हामी एकमत छौँ’, नगर प्रमुख थारुले भने, ‘राजापुर र गेरुवा गाउँपालिकाको सात सयदेखि ११ सय बिघा जमिन नदीमा छ । जग्गाधनीले कर तिर्ने तर उपभोग गर्न नपाएको अवस्था छ । त्यसैले कार्यदल बनाउने, कार्यदलले विवाद टुङ्ग्याउने सहमति भएको छ ।’

Published Date: 23 December 2023


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी