आज माघे सङ्क्रान्ति, उपत्यकामा ‘घ्यूचाकु सँल्हु’

आज माघे सङ्क्रान्ति, उपत्यकामा ‘घ्यूचाकु सँल्हु’ : Icon Khabar

काठमाडौँ, माघ १। माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिएको हो।
सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।

माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ। यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ। भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरि घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ।

मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन्। शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घुस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ। महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ।

नेपालमा माघे सङ्क्रान्ति
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ ।

यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर जातिले मुख्य रूपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

थारु समुदायले मनाउने माघी पर्व

उपत्यका
यद्यपि उपत्यकामा सबै भागका जनताको उपस्थिति पाइन्छ तापनि यहाँका रैथाने भनेका नेवार जनजातीका मानिसहरू हुन । नेवार समुदायमा विशेष किसिमको एउटा खाद्यवस्तुको नामबाट यस पर्वको नामकरण गरिएको छ । नेवारहरू यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन । यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने काम गर्दछन् । बिहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकारहरू तयार पार्दछन् र घरपरिवारका सम्पूर्ण मानिस जम्मा भएर मिठामिठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एक आपसमा दुःखसुखका गफमा रमाउँदै, भजनकिर्तन गर्दै यस पर्वलाई मनाउने गर्दछन् ।

यसै दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले नुहाइधुवाइ गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ । माघे सङ्क्रान्तिका दिन नारायणको मूर्तिभरि घिउ दलेर तिल चढाउने र उक्त घिउ–तिल चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा छ । लिच्छविकालीन राजा मानदेवको पालादेखि नै सुरू भएको अनुमान रहेको यो मेलामा असङ्ख्य भक्तजनको जमघट हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2023
Website | + posts