४३ औं नेपालभाषा साहित्य तःमुंज्याकाबारे सो कार्यक्रमका संयोजक बलराम सिंबन्जारसँगको आइकन संवाद

४३ औं नेपालभाषा साहित्य तःमुंज्याकाबारे सो कार्यक्रमका संयोजक बलराम सिंबन्जारसँगको आइकन संवाद : Icon Khabar

भक्तपुर, असोज २६ । भक्तपुरको ल्यसिंख्यमा आगामी मिति २०८० साल कार्तिक ९ र १० गते हुने ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ।

नेपालभाषा साहित्यको क्षेत्रमा “जनता म्वाःसा भाषा म्वाइ” भन्ने नाराका साथ जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पुर्याउने उद्वेश्यका साथ विगत ४३ वर्ष देखि नेपाल भाषा सहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम र अन्य गतिविधिहरू भक्तपुरका विभिन्न स्थानहरूमा बर्सेनि हुदैँ आएको छ।

यसैको बारेमा यो पटक को तःमुंज्याका संयोजक बलराम सिंबन्जारसँग आइकन खबरले गरेको आइकन संवाद यहाँ प्रस्तुत छ:

१. सर्वप्रथम ४३ औँ त: मुंज्याको बारेमा जानकारी दिनुहोस न।

– विगत ४३ बर्षदेखि भक्तपुरका विभिन्न टोल टोलमा “जनता म्वा:सा भाषा म्वाई” भन्ने भनाइलाई अगाडि सार्दै दबाइएका भाषा, जनपक्षिय साहित्य तथा संस्कृतिको उत्थानको लागि नेपाल भाषा साहित्य तःमुंज्या क्रियाशील छ । तःमुंज्याको ४३ औैं वार्षिक श्रृंखला यस बर्ष भक्तपुरको ल्यसिंख्यः टोलमा हुनगइरहेको छ ।

२. यस पटकको त: मुंज्या विगतका बर्षहरुमा भन्दा कसरी फरक होला ? प्रमुख आकर्षणहरु के के हुनेछन् ?

– जनताको सांस्कृतिक स्तर उठाउनको लागि जनसाहित्यको उत्थान गर्ने तःमुंज्याको मुख्य उद्देश्य हो । यसका साथै जनताको स्वास्थ्य, शिक्षा तथा अन्य विविध पक्षमा जनताको सेवा गर्नको लागि विभिन्न विद्वान व्यक्तित्वहरुको विचारबाट जनतालाई सुसूचित गर्ने कार्य पनि तःमुंज्याले संगै गर्दै आएको छ ।

तःमुंज्याले आफ्नो स्थापनाकालदेखि नै जनसाहित्य र जनताको चेतनास्तर उठाउने कार्यहरुलाई प्राथमिकतामा राखेको छ । समय परिस्थिति अनुसार विकसित राजनैतिक तथा सामाजिक परिवेश अनुसार जनता समक्ष प्रस्तुत गर्ने कार्य यस बर्ष पनि हुनेछ । जस्तो पछिल्लो समयमा देशमा विकसित घटनक्रमहरु जस्तै देशघाती एमसीसी सम्झौता, नागरिकता विधेयक, खोना–बोङा, बालुवाटारको जग्गा, थंबहिको अतिक्रमण लगायत भ्रष्टाचार तथा अराजकता जस्ता विषयमा जनतालाई सुसूचित पार्ने काम हुनेछ ।

साथै अन्तराष्ट्रिय रुपमा घटेका घटनाहरु जस्तै इजरेल–प्यालेष्टाइन द्वन्द, युक्रेन द्वन्द लगायतका विभिन्न विश्व घटनाहरु बारे पनि छलफल हुनेछ ।

३. भक्तपुरकै एउटा ठुलो साहित्य अनि साँस्कृतिक सम्मेलनको रूपमा त: मुंज्या जनमानसमा लोकप्रिय हुँदै आएको छ। यो सम्मेलन को मुख्य उद्वेश्यहरु के के रहेका छन् ?

– उद्देश्यको बारेमा तःमुंज्या निक्कै स्पष्ट छ । हाम्रो उद्देश्य “जनता  म्वा:सा भाषा म्वाइ” हाम्रो भनाइमा नै स्पष्ट छ । भाषा, संस्कृति र सभ्यताको जगेर्ना गर्नेको लागि जनतालाई सचेत बनाउनु हाम्रो उद्द्श्य हो । तःमुंज्या पछाडि परेका वर्ग र समुदायको साझा मञ्च पनि हो । तसर्थ समाजको विकृति विसंगति तथा अन्याय विरुद्ध देश र जनताको पक्षमा निरन्तर आवाज उठाउनु हाम्रो उद्देश्य हो ।

४. भक्तपुरको भनपा वडा नं ५ ल्यासिंख्यमा यो पटकको त: मुंज्या हुन लागेको छ। जनसमुदायको उपस्थिति र सहभागिता कस्तो रहने अनुमान छ ?

– तःमुंज्या मूलतः तःमुंज्या जनताको दबु हो । तःमुंज्याको आयोजना गर्न पाउनु समग्र टोलको इज्जको विषय हो । सारा टोलबासीहरु नै तःमुंज्या भब्यताका साथ सम्पन्न गर्न आ–आफ्नो तवरबाट निरन्तर रुपमा लागि रहेका छौं । यो भन्दा अगाडि यही स्थानमा ११ औं, २१ औं, ३१औै तथा ३७ औं संस्करण यही ल्यसिंख्यः टोलमा सम्पन्न भइसकेको छ ।

विगत बर्षहरुमा पनि जनताको सहयोगमा तःमुंज्याको भब्यता कायम गर्न स्थानीय जनसमुदायको महत्वपूर्ण सहभागिता रहेको थियो । यस बर्षको ४३ औं तःमुंज्याको भब्यता कायम गर्नको लागि जिम्मेवारी अनुसार विभिन्न कार्य सम्पन्न गर्नको लागि लागिपर्नु भएको छ ।

प्रचार पसारको विभिन्न माध्यमबाट प्रचार प्रसारको कार्य पनि भैरहेको छ । यस पटक प्रचार प्रसारको लागि असोज २७ गते उपत्यकाव्यापी साइकल -याली पनि हुँदै छ । विशेषत युवा साथीहरुलाई उक्त -यालीमा सहभागितको लागि अनुरोध गर्दछ ।

५. नेपाल भाषाको संरक्षणका लागि त: मुंज्या ले कतिको टेवा पुर्याउन्दै आएको छ ?

– भाषा, साहित्य र संस्कृति भनेको मानवजातीको सभ्यतासंगै विकास भएको हो । तसर्थ यो समग्र मानवजातीको साझा सम्पत्ति हो । नेपालभाषा नेपालको सभ्यता र पहिचानसंग जोडिएको भाषा हो । यस अर्थमा यसको संरक्षण भनेको एक तवरबाट देशको सम्पत्तिको संरक्षण हो ।

नयाँ पुस्तामा भाषा, कला र संस्कृतिको हस्तान्तरण तथा त्यसको व्यवस्थित अभिलेखन नै भाषा संरक्षणको मुख्य कार्य हो । तःमुंज्या नेपालभाषाको लगायत देशका विभिन्न जातजातीको भाषा संरक्षण हुनुपर्ने कुरामा स्पष्ट छ । समय सापेक्ष जनपक्षीय साहित्य सिर्जना गरी सरल भाषामा जनतासंग घनिष्ठ सम्बन्ध कायम गर्न प्रतिवद्ध छ ।

६. यस सम्मेलनमा प्रस्तुत हुने विभिन्न संस्कृतिक कार्यक्रम, नाटक, साहित्य वाचनबाट उठेका नेपाल भाषा अनि नेवा संस्कृतिका मुद्दाहरुको सम्बोधन कसरि हुँदै आएको छ ?

– तःमुंज्याले सदैव जनता र भाषाको विषय स्पष्ट रुपमा आवाज उठाउँदै आएको छ । जुनसुकै जात जनजातीले बोल्ने भाषा भए पनि समग्रमा त्यो देशको भाषा हो । देशको भाषा भनेको देशको सम्पत्ति हो ।

हरेक भाषाले एक न एक सभ्यताको प्रतिनिधित्व गरेको हुन्छ । भाषालाई कुनै जात विशेषसंग मात्र जोडेर कुरा गर्दा त्यो संकुचित हुन्छ । त्यसैले भाषिक आन्दोलन पनि सचेतताका साथ देश र जनताको हितमा राजनैतिक आन्दोलनसंगै अगाडि बढ्नु पर्छ ।

तसर्थ तःमुंज्या नेपालभाषाको दबुको रुपमा परिचित भए पनि यसले देशका सबै भाषा र संस्कृति संगै अगाडि बढाउने मान्यता अनुरुप कार्य गर्दै आएको छ ।

७. आजभोलि नेवा: जाति अनि भाषाको प्रमुख चुनौती के के रहेको पाउनुभएको छ ?

– नयाँ पुस्तामा भाषा सम्बन्धी विशेष समस्या देखिएको छ । राज्यले सबै भाषालाई समान महत्व नदिएको हुँदा आजकल नेपाल भाषा मात्र हैन नेपाली बाहेकको अन्य भाषाको संरक्षणको समस्या जटिल बन्दै गएको छ ।

नयाँ पुस्ताका अभिभावहरुमा समेत नेपाल भाषाको दैनिक जीवनमा नेपालभाषाको प्रचलन घट्दो छ । बालबालिकाहरुमा यो समस्या विकराल नै छ । यस्तै स्थिति अन्य विभिन्न भाषाहरुमा पनि छ ।

बेलामा यस तर्फ ध्यान नदिने हो भने भोलीका पुस्ताले आफ्नै भाषा समेत नचिन्ने चुनौती छ । तसर्थ सरकार, स्थानीय तह र जनस्तरबाट आ–आफ्नो मातृभाषा संरक्षणमा विशेष पहल गर्नु जरुरी छ ।

८. अन्तिममा यहि कार्तिक ९ र १० गते हुने त: मुंज्यालाई लिएर जनसमुदायका लागि तपाईको संदेश के रहेको छ?

– तःमुंज्या श्रमजीवि जनताको साझा दबु हो । यसले आफ्नो स्थापनाकाल देखि नै भाषा, संस्कृति तथा सभ्यताको संरक्षण र उत्पिडित वर्गको पक्षमा आवाज उठाउँदै आएको छ ।

यस बर्ष ल्यसिंख्यः, भनपा ५ मा यसको ४३ औं संस्करण सम्पन्न हुँदैछ । यसलाई भब्य रुपमा सम्पन्न गर्नको लागि यहाँहरु सबैले आ–आफ्नो स्थानबाट आर्थिक, भौतिक तथा अन्य आवश्यक सहयोग गर्नुहुनेछ भन्नेमा हामी आशावादी छौं ।

यस पटक तःमुंज्याको उद्घाटन विहान ११ बजे हुने कुरा पनि जानकारी गराउन चाहन्छु । यही कार्तिक ९ र १० गते हुने कार्यक्रममा समयमा नै उपस्थित हुन सबैमा विशेष अनुरोध गर्न चाहन्छु । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 October 2023
Website | + posts