४३ औं नेपालभाषा साहित्य तःमुंज्याकाबारे सो कार्यक्रमका संयोजक बलराम सिंबन्जारसँगको आइकन संवाद

४३ औं नेपालभाषा साहित्य तःमुंज्याकाबारे सो कार्यक्रमका संयोजक बलराम सिंबन्जारसँगको आइकन संवाद : Icon Khabar

भक्तपुर, असोज २६ । भक्तपुरको ल्यसिंख्यमा आगामी मिति २०८० साल कार्तिक ९ र १० गते हुने ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ।

नेपालभाषा साहित्यको क्षेत्रमा “जनता म्वाःसा भाषा म्वाइ” भन्ने नाराका साथ जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पुर्याउने उद्वेश्यका साथ विगत ४३ वर्ष देखि नेपाल भाषा सहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम र अन्य गतिविधिहरू भक्तपुरका विभिन्न स्थानहरूमा बर्सेनि हुदैँ आएको छ।

यसैको बारेमा यो पटक को तःमुंज्याका संयोजक बलराम सिंबन्जारसँग आइकन खबरले गरेको आइकन संवाद यहाँ प्रस्तुत छ:

१. सर्वप्रथम ४३ औँ त: मुंज्याको बारेमा जानकारी दिनुहोस न।

– विगत ४३ बर्षदेखि भक्तपुरका विभिन्न टोल टोलमा “जनता म्वा:सा भाषा म्वाई” भन्ने भनाइलाई अगाडि सार्दै दबाइएका भाषा, जनपक्षिय साहित्य तथा संस्कृतिको उत्थानको लागि नेपाल भाषा साहित्य तःमुंज्या क्रियाशील छ । तःमुंज्याको ४३ औैं वार्षिक श्रृंखला यस बर्ष भक्तपुरको ल्यसिंख्यः टोलमा हुनगइरहेको छ ।

२. यस पटकको त: मुंज्या विगतका बर्षहरुमा भन्दा कसरी फरक होला ? प्रमुख आकर्षणहरु के के हुनेछन् ?

– जनताको सांस्कृतिक स्तर उठाउनको लागि जनसाहित्यको उत्थान गर्ने तःमुंज्याको मुख्य उद्देश्य हो । यसका साथै जनताको स्वास्थ्य, शिक्षा तथा अन्य विविध पक्षमा जनताको सेवा गर्नको लागि विभिन्न विद्वान व्यक्तित्वहरुको विचारबाट जनतालाई सुसूचित गर्ने कार्य पनि तःमुंज्याले संगै गर्दै आएको छ ।

तःमुंज्याले आफ्नो स्थापनाकालदेखि नै जनसाहित्य र जनताको चेतनास्तर उठाउने कार्यहरुलाई प्राथमिकतामा राखेको छ । समय परिस्थिति अनुसार विकसित राजनैतिक तथा सामाजिक परिवेश अनुसार जनता समक्ष प्रस्तुत गर्ने कार्य यस बर्ष पनि हुनेछ । जस्तो पछिल्लो समयमा देशमा विकसित घटनक्रमहरु जस्तै देशघाती एमसीसी सम्झौता, नागरिकता विधेयक, खोना–बोङा, बालुवाटारको जग्गा, थंबहिको अतिक्रमण लगायत भ्रष्टाचार तथा अराजकता जस्ता विषयमा जनतालाई सुसूचित पार्ने काम हुनेछ ।

साथै अन्तराष्ट्रिय रुपमा घटेका घटनाहरु जस्तै इजरेल–प्यालेष्टाइन द्वन्द, युक्रेन द्वन्द लगायतका विभिन्न विश्व घटनाहरु बारे पनि छलफल हुनेछ ।

३. भक्तपुरकै एउटा ठुलो साहित्य अनि साँस्कृतिक सम्मेलनको रूपमा त: मुंज्या जनमानसमा लोकप्रिय हुँदै आएको छ। यो सम्मेलन को मुख्य उद्वेश्यहरु के के रहेका छन् ?

– उद्देश्यको बारेमा तःमुंज्या निक्कै स्पष्ट छ । हाम्रो उद्देश्य “जनता  म्वा:सा भाषा म्वाइ” हाम्रो भनाइमा नै स्पष्ट छ । भाषा, संस्कृति र सभ्यताको जगेर्ना गर्नेको लागि जनतालाई सचेत बनाउनु हाम्रो उद्द्श्य हो । तःमुंज्या पछाडि परेका वर्ग र समुदायको साझा मञ्च पनि हो । तसर्थ समाजको विकृति विसंगति तथा अन्याय विरुद्ध देश र जनताको पक्षमा निरन्तर आवाज उठाउनु हाम्रो उद्देश्य हो ।

४. भक्तपुरको भनपा वडा नं ५ ल्यासिंख्यमा यो पटकको त: मुंज्या हुन लागेको छ। जनसमुदायको उपस्थिति र सहभागिता कस्तो रहने अनुमान छ ?

– तःमुंज्या मूलतः तःमुंज्या जनताको दबु हो । तःमुंज्याको आयोजना गर्न पाउनु समग्र टोलको इज्जको विषय हो । सारा टोलबासीहरु नै तःमुंज्या भब्यताका साथ सम्पन्न गर्न आ–आफ्नो तवरबाट निरन्तर रुपमा लागि रहेका छौं । यो भन्दा अगाडि यही स्थानमा ११ औं, २१ औं, ३१औै तथा ३७ औं संस्करण यही ल्यसिंख्यः टोलमा सम्पन्न भइसकेको छ ।

विगत बर्षहरुमा पनि जनताको सहयोगमा तःमुंज्याको भब्यता कायम गर्न स्थानीय जनसमुदायको महत्वपूर्ण सहभागिता रहेको थियो । यस बर्षको ४३ औं तःमुंज्याको भब्यता कायम गर्नको लागि जिम्मेवारी अनुसार विभिन्न कार्य सम्पन्न गर्नको लागि लागिपर्नु भएको छ ।

प्रचार पसारको विभिन्न माध्यमबाट प्रचार प्रसारको कार्य पनि भैरहेको छ । यस पटक प्रचार प्रसारको लागि असोज २७ गते उपत्यकाव्यापी साइकल -याली पनि हुँदै छ । विशेषत युवा साथीहरुलाई उक्त -यालीमा सहभागितको लागि अनुरोध गर्दछ ।

५. नेपाल भाषाको संरक्षणका लागि त: मुंज्या ले कतिको टेवा पुर्याउन्दै आएको छ ?

– भाषा, साहित्य र संस्कृति भनेको मानवजातीको सभ्यतासंगै विकास भएको हो । तसर्थ यो समग्र मानवजातीको साझा सम्पत्ति हो । नेपालभाषा नेपालको सभ्यता र पहिचानसंग जोडिएको भाषा हो । यस अर्थमा यसको संरक्षण भनेको एक तवरबाट देशको सम्पत्तिको संरक्षण हो ।

नयाँ पुस्तामा भाषा, कला र संस्कृतिको हस्तान्तरण तथा त्यसको व्यवस्थित अभिलेखन नै भाषा संरक्षणको मुख्य कार्य हो । तःमुंज्या नेपालभाषाको लगायत देशका विभिन्न जातजातीको भाषा संरक्षण हुनुपर्ने कुरामा स्पष्ट छ । समय सापेक्ष जनपक्षीय साहित्य सिर्जना गरी सरल भाषामा जनतासंग घनिष्ठ सम्बन्ध कायम गर्न प्रतिवद्ध छ ।

६. यस सम्मेलनमा प्रस्तुत हुने विभिन्न संस्कृतिक कार्यक्रम, नाटक, साहित्य वाचनबाट उठेका नेपाल भाषा अनि नेवा संस्कृतिका मुद्दाहरुको सम्बोधन कसरि हुँदै आएको छ ?

– तःमुंज्याले सदैव जनता र भाषाको विषय स्पष्ट रुपमा आवाज उठाउँदै आएको छ । जुनसुकै जात जनजातीले बोल्ने भाषा भए पनि समग्रमा त्यो देशको भाषा हो । देशको भाषा भनेको देशको सम्पत्ति हो ।

हरेक भाषाले एक न एक सभ्यताको प्रतिनिधित्व गरेको हुन्छ । भाषालाई कुनै जात विशेषसंग मात्र जोडेर कुरा गर्दा त्यो संकुचित हुन्छ । त्यसैले भाषिक आन्दोलन पनि सचेतताका साथ देश र जनताको हितमा राजनैतिक आन्दोलनसंगै अगाडि बढ्नु पर्छ ।

तसर्थ तःमुंज्या नेपालभाषाको दबुको रुपमा परिचित भए पनि यसले देशका सबै भाषा र संस्कृति संगै अगाडि बढाउने मान्यता अनुरुप कार्य गर्दै आएको छ ।

७. आजभोलि नेवा: जाति अनि भाषाको प्रमुख चुनौती के के रहेको पाउनुभएको छ ?

– नयाँ पुस्तामा भाषा सम्बन्धी विशेष समस्या देखिएको छ । राज्यले सबै भाषालाई समान महत्व नदिएको हुँदा आजकल नेपाल भाषा मात्र हैन नेपाली बाहेकको अन्य भाषाको संरक्षणको समस्या जटिल बन्दै गएको छ ।

नयाँ पुस्ताका अभिभावहरुमा समेत नेपाल भाषाको दैनिक जीवनमा नेपालभाषाको प्रचलन घट्दो छ । बालबालिकाहरुमा यो समस्या विकराल नै छ । यस्तै स्थिति अन्य विभिन्न भाषाहरुमा पनि छ ।

बेलामा यस तर्फ ध्यान नदिने हो भने भोलीका पुस्ताले आफ्नै भाषा समेत नचिन्ने चुनौती छ । तसर्थ सरकार, स्थानीय तह र जनस्तरबाट आ–आफ्नो मातृभाषा संरक्षणमा विशेष पहल गर्नु जरुरी छ ।

८. अन्तिममा यहि कार्तिक ९ र १० गते हुने त: मुंज्यालाई लिएर जनसमुदायका लागि तपाईको संदेश के रहेको छ?

– तःमुंज्या श्रमजीवि जनताको साझा दबु हो । यसले आफ्नो स्थापनाकाल देखि नै भाषा, संस्कृति तथा सभ्यताको संरक्षण र उत्पिडित वर्गको पक्षमा आवाज उठाउँदै आएको छ ।

यस बर्ष ल्यसिंख्यः, भनपा ५ मा यसको ४३ औं संस्करण सम्पन्न हुँदैछ । यसलाई भब्य रुपमा सम्पन्न गर्नको लागि यहाँहरु सबैले आ–आफ्नो स्थानबाट आर्थिक, भौतिक तथा अन्य आवश्यक सहयोग गर्नुहुनेछ भन्नेमा हामी आशावादी छौं ।

यस पटक तःमुंज्याको उद्घाटन विहान ११ बजे हुने कुरा पनि जानकारी गराउन चाहन्छु । यही कार्तिक ९ र १० गते हुने कार्यक्रममा समयमा नै उपस्थित हुन सबैमा विशेष अनुरोध गर्न चाहन्छु । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 October 2023






ताजा
सोल्टी होटल्सले सञ्चालनमा ल्यायो मनकामना मन्दिर नजिक लक्जरी रिसोर्ट
के दैनिक एलोभेरा जुस पिउनु सुरक्षित छ?
समस्याग्रस्त सहकारीका १३ हजार ऋणीको चलअचल सम्पत्ति रोक्का
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न