नेपालीहरुको पहिचान भनेकै यहाँको कला र संस्कृति हो : अध्यक्ष बिजुक्छेँ

नेपालीहरुको पहिचान भनेकै यहाँको कला र संस्कृति हो : अध्यक्ष बिजुक्छेँ : Icon Khabar

भक्तपुर, असोज १० । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०८० मा प्रदर्शन भएका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण, भक्तपुरका सांस्कृतिक गुरुहरूको सम्मान तथा पर्यटन सम्बद्व संघ संस्था, व्यवसायी र सहयोगीहरुलाई सम्मान कार्यक्रम बुधबार भक्तपुरको दरबार क्षेत्रमा एक भव्य समारोहबीच सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गरेको थियो ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुरको संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्कृतिकर्मीहरुको सम्मान कार्यक्रमलाई नगरपालिकाले निरन्तर अगाडि बढाउनुपर्ने बताउँदै ‘नेपालीहरुको पहिचान भनेकै यहाँको कला र संस्कृति हो’ भने ।स्थानीय तहहरुले जनताको हितमा राम्रो काम गरे देशकै लागि फाइदा पुग्ने बताउँदै विदेशीको भरमा विकास निर्माण गर्छु भन्ने भावनाबाट जनप्रतिनिधिहरु टाढा रहनुपर्ने बताए ।

सहकारी संस्था तथा अन्य संघ संस्थाहरुले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी आदर निकेतनहरु सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष बिजुक्छेँले अशक्त र असहाय नागरिकहरुलाई अब समाजले नै हेर्नुपर्ने अवस्था सिर्जना भइरहेको बताए ।

युवाहरुलाई आफ्नै देशको सेवा गर्ने भावनाबाट अभिप्रेरित गर्दै जानुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले भक्तपुरले नयाँ नयाँ क्षेत्रमा नमुना कार्यहरु गरी देशकै लागि उदाहरणीय बन्नुपर्नेमा जोड दिए ।

सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रहरुमा लगानी नगर्दा आज जनताको पैसा सहकारीहरुले डुबाइरहेको बताउँदै उनले ब्यापक जनताको हित हुने गरी सहकारीहरुले समाज निर्माण र स—साना कारखानाहरु खोल्नेतर्फ विशेष ध्यान दिनु आवश्यक भएको बताए ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले काठमाडौंमा जारी शिक्षक आन्दोलन स्थानीय तहको अधिकार कटौती गरी संघ सरकारमा पुर्याउने खालको आन्दोलन भएको बताउँदै जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्नु भनेको पञ्चायतकालीन व्यवस्थाको पुनःस्थापना गर्नु हो र यसको विरोध गर्नुपर्ने बताए ।

सरकारले नेपालका डाक्टरहरुलाई पनि विदेशिन बाध्य पारिरहेको बताउँदै उनले सरकारले अस्पतालहरुलाई बीमा बापतको रकम समयमै सोधभर्ना नगर्दा अस्पतालहरुलाई स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको बताए ।

नेपालीहरुको सम्पत्ति सीमा निर्धारण तथा नेपालीहरुको पैसा विदेशमा राख्न नपाउने व्यवस्था आवश्यक भएको बताउँदै सांसद सुवालले सिंहदरबारभित्र विदेशी लगानी भएका बैंकहरुको सञ्चालनलाई रोक लगाउनुपर्ने धारणा राखे ।

सांसद सुवालले गरिबका छोराछोरीलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गरी सभ्य समाज निर्माण गर्ने उद्देश्यअनुसार ख्वप विश्वविद्यालय सञ्चालनको लागि निरन्तर आवाज उठाउँदै आएको बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रामा प्रस्तुत भएका घिन्ताङघिसी, अन्य परम्परागत र आधुनिक विधाका संस्कृतिहरुको अलग अलग मूल्यांकन गरी पुरस्कारको व्यवस्था गर्नु आफैम संस्कृतिको संरक्षण र अझ व्यवस्थित प्रस्तुतीको लागि वातावरण तयार गर्न खोजिएको हो भने ।

भक्तपुरको पुरानो सहर आफैमा एउटा सम्पदा सहर भएको बताउँदै उनले २०७२ सालको भूकम्पबाट भत्केका कयौं सम्पदाहरु भक्तपुर नपाले विदेशीको सहयोग विना नै स्थानीय जनताको साथ र सहयोगमा सम्पदा पुनःनिर्माण गर्नु सबै भक्तपुरबासीहरुको लागि गौरवको विषय भएको बताए ।

कला, संस्कृतिक संरक्षण, ऐतिहासिक र सांस्कृतिक महत्वको दृष्टिले देशकै महत्वपूर्ण नगरको रुपमा विकसित भक्तपुर नपाले अग्रजहरुले गरेका कामलाई निरन्तरता दिँदै समयअनुसार नयाँ नयाँ अध्ययन, अनुसन्धान र उत्खनन्का कार्यहरु गर्दै भक्तपुरलाई समृद्ध बनाउने कार्यमा निरन्तर लागिरहेको बताए ।

त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले नाचगानको राजधानी भक्तपुर अहिले जनताको साहित्य र जनताको संस्कृतिले मूर्त रुप लिँदै गरेको जीवन्त सहरको रुपमा विकास भइरहेको बताउँदै भक्तपुरको बेजोड मौलिक शैलीको नाचगान र नृत्य हाम्रो अमूल्य सम्पत्ति हो र यसलाई निरन्तर संरक्षण गर्दै जानुपर्ने बताए ।

जनताले अत्यन्त रुचाइएका सांस्कृतिक नाचगानहरुको संरक्षणले जनताका अभिव्यक्ति व्यापक जनतामाझ प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले हाम्रा अग्रजहरुले मानव जीवनको निम्ति हित हुने खालको इतिहास निर्माण गरेको बताए ।

भक्तपुरमा कला संस्कृति संरक्षण, नाचगानसँगसँगै देश र अन्तर्राष्ट्रिय विषयमा ऐक्यबद्धता जनाएको इतिहास ताजा रहेको बताउँदै सांसद गोसाईंले भक्तपुरका सांस्कृतिक गतिविधिहरुमा युवाहरुको सहभागिता उत्साहजनक रहँदै आएको बताए ।

सांस्कृतिक नाचगानमार्फत अमेरिकी साम्राज्यवादको विरोध, सीमा अतिक्रमण, नेपालमा भइरहेको विभिन्न काण्डबारे भक्तपुरका युवाहरुले सशक्त रुपमा विरोध गरिरहेको बताउँदै उनले अन्यायको विरोध र निरंकुशताको विरोध गर्ने जनताको नैसर्गिक अधिकार हो भने ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको सांस्कृतिक धरोहरलाई विश्वसामु उजागर गर्न विश्व पर्यटन दिवसको अवसरमा संस्कृतिकर्मी सम्मान कार्यक्रम आयोजना गरेको बताउँदै पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला रसंस्कृतिलाई व्यवहारिक रुपमा रुपान्तरण गर्ने प्रयास भइरहेको बताए ।

भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र्र निरौलाले ऐतिहासिक नगरी भक्तपुर सबै क्षेत्रमा अग्रणी रहेको बताउँदै आगामी दिनहरुमा पनि जिप्रका र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मीले अमूर्त सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने संस्कृतिकर्मी सम्मान कार्यक्रम सराहनीय भएको बताउँदै कृषि र संस्कृतिलाई सँगसँगै अगाडि बढाई चाडपर्वहरु मनाउनुपर्ने बताए ।
इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले गुन्हीपुन्ही र सापारुको ऐतिहासिक पक्षमाथि चर्चा गर्दै प्राचिनकालदेखि प्रचलनमा आएको गुन्हीपुन्ही र सापारु भक्तपुरको महत्वपूर्ण पर्व भएको बताए । पर्यटन प्रवद्र्धनमा भक्तपुरले फड्को मारेको बताउँदै डा. श्रेष्ठले भक्तपुर पर्यटन प्रवद्र्धनको लागि धेरै सम्भावना भएको ठाउँ हो भने ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरूको मूल्यांकनको समीक्षा गरेको थियो भने भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले स्वागत मन्तव्य राखेको थियो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोलेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले २२ जना सांस्कृतिक गुरुहरूलाई दोसल्ला ओढाई नगद रु. २०,०००।– सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो भने उनले उत्कृष्ट कलाकारहरूलाई पुरस्कार वितरण गरेका थिए । त्यस्तै प्रमुख अतिथि बिजुक्छेँले पर्यटन सम्बद्ध संघ संस्था र ट्राभल एजेन्सीहरुलाई कदरपत्र प्रदान गरेका थिए ।

त्यस्तै विशेष अतिथि सुवालले आधुनिक विधा र परम्परागत विधाका विजेताहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो भने विशेष अतिथि प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले घिन्ताङघिसी, माक प्याखंका विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रमका सभापति एवम् नगर प्रमुख प्रजापतिले मूल्यांकनकर्ताहरुलाई मायाको चिनो र पर्यटन सम्बद्ध पथ प्रदर्शक, व्यवसायी र सहयोगीहरुलाई कर पत्र प्रदान गरेको थियो भने उपप्रमुख जोशीले प्रतियोगिताका सहयोगीहरूलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।

कार्यक्रममा प्रतियोगितामा प्रथम हुन सफल प्रथम हुन सफल यापी भैरव भजन मण्डलको माक प्याखँ, साइनिङ ग्रुपको फाकंदली प्याखं, खर्बुजा देवी प्याखं समूहको देवी प्याखं देखाइएको थियो ।

आज सम्मानित हुने सांस्कृतिक गुरुहरु भ.न.पा वडा नं १ बाट बुद्धिभक्त सिन्ताकल र दिपानन्द बज्राचार्य, वडा नं २ बाट हरिभक्त खुसु र पुण्यराम कोजु, वडा नं ३ बाट बिसलाल स्वंगमिखा र रामभक्त कर्माचार्य, वडा नं ४ बाट नारायणप्रसाद सुवाल र कृष्णभक्त नागाजु, वडा नं ५ बाट कृष्णभक्त तमखु र कृष्णगोपाल माक, वडा नं ६ बाट न्हुछेकुमार अवाल र न्हुछे बहादुर त्यात, वडा नं ७ बाट कृष्णभक्त दुमरु र तुल्सीभक्त तजले, वडा नं ८ बाट दश साय“जु र कान्छा गोसाईं, वडा नं ९ बाट पूर्णभक्त प्रजापति, धनबहादुर मानन्धर र श्याम शाही, वडा नं १० बाट कृष्णभक्त माकजु र पुष्परत्न शाक्य रहेका थिए । त्यस्तै कला र सांस्कृतिक सम्पदा जगेर्नाको लागि नवदुर्गाको मुकुण्डो बनाउँदै आएका पुर्ण चित्रकार र नायोखिं बाजा प्रशिक्षक श्याम शाहीलाई विशेष सम्मान पुरस्कारको रुपमा पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 September 2023
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी