सुर्तीजन्य पदार्थबाट उठ्ने करको सबै रकम स्वास्थ्य मन्त्रालयले लिनुपर्छ : मन्त्री बस्नेत

सुर्तीजन्य पदार्थबाट उठ्ने करको सबै रकम स्वास्थ्य मन्त्रालयले लिनुपर्छ : मन्त्री बस्नेत : Icon Khabar

काठमाडौं, असार २८ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थको करवापत संकलन भएको सबै रकम आफ्नो मन्त्रालयले पाउनुपर्ने दावी गरेका छन्।

ऐन, कानून र नियमावलीमा सूर्तिजन्य पदार्थको करवापत उठेको रकम स्वास्थ्य मन्त्रालयले नै पाउनुपर्ने व्यवस्था भएको उल्लेख भएपनि सो अनुसार बजेट विनियोजन नभएकोमा उनको आपत्ति छ।

उनका अनुसार सूर्तिजन्य पदार्थको करबाट हाल ६ अर्व रकम उठेको छ। सो मध्ये सरकारले बजेटमा ४० करोड मात्रै स्वास्थ्य मन्त्रालयलाई विनियोजन गरेको छ। बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले ६ अर्ब बजेटनै कानूनी रुपमा आफ्नो मन्त्रालयले पाउनुपर्ने जिकीर गरे।

उनले सो बजेट मन्त्रालयलाई उपलब्ध गराए दरबन्दीसम्बन्धि सबैभन्दा ठूलो समस्या हल गर्दै लैजान सकिने योजना पनि सुनाए। दरबन्दीकै अभावमा हाल जनताले उचित ढंगले स्वास्थ्य सेवा पाउन नसकिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यसको उचित व्यवस्थापन गर्नका लागि पनि सूर्तिजन्य पदार्थको करवापत उठेको रकम आफ्नो मन्त्रालयलाई दिन जरुरी रहेको बताए। त्यसो गर्न सके दरबन्दी पूर्तिका लागि बजेटको अभाव नहुने उनले स्पष्ट पारे।

मन्त्री बस्नेतले भने, ‘समग्रमा भन्नुपर्दा ४ जना चाहिनेमा एक जना हुँदा कसरी काम गर्न सक्छ? एउटा त्यो समस्या। अर्को हामीले गर्न नसकेको काम छ। त्यो भनेको दरबन्दीलाई उचित ढंगले व्यवस्थापन गर्न नसक्नु। त्यो पनि त समस्या छ। चाहिने ठाउँमा चाँही छैन, नचाहिने ठाउँमा चाँही खापाखाप गरेर बसिदिएको छ। स्वास्थ्य मन्त्रालयको सबैभन्दा ठूलो समस्या चाँही दरबन्दीकै हो। जबसम्म दरबन्दी पर्याप्त हुँदैन। पर्याप्त मात्रै होइन नभई नहुने हुँदैन। पर्याप्त पनि खोजेको होइन। त्यो बेलासम्म यो मन्त्रालयले उचित ढंगले स्वास्थ्य सेवा जनतालाई दिन सक्दैन। संविधानमा जे लेखौं, जेसुकै गरौैं। त्यो अवस्था छ। भएको बजेटले हामी केही न केही संचालन गर्ने कुरा एउटा पाटो हो। तर दरबन्दी त चाहियो नि। त्यही विषयमा अहिले सुर्जिजन्य पदार्थमा उठेको टयाक्स ६ अर्वमा यो वर्ष ४० करोड मात्र पाएका छौं। बाँकि पैसा चाँही यो मन्त्रालयलाई दिएर र दरबन्दी चाँही अगाडि बढाऊ यो प्रक्रिया भन्यो भने राम्रैसँग समस्या हल हुँदै जान्छ। अर्को वर्षका लागि त्यो व्यवस्था गर्दै जाउला। त्यसकारणले उपाय पनि चाहियो नि। अहिले बजेटको सिलिङ अलि तन्किएको छ । हामी सबैलाई त्यो कुरा थाहा छ। त्यसपछि हामीले ठूलो पाउँछौं भन्ने छैन। हाम्रो अधिकारभित्र प्राप्त गरेको कुरा र यो चाँही राज्यको कानूनले व्यवस्था गरेको कुरा टयाक्सको चाँही ऐन, कानून र नियमावलीको व्यवस्था गरेको कुरा त्यो ६ अर्व हामीले किन नपाउने? त्यो भयो भने पनि हामीले अहिले यो छलफल गरेको विषयमा ४० प्रतिशत समस्या समाधान गर्ने कुरामा हामी अघि बढन सक्छौं। यो ४० प्रतिशत भनेको ठूलै फड्को हो।’

मन्त्री बस्नेतले सो बजेट आफ्नो मन्त्रालयले पाए स्वास्थ्य क्षेत्रमा देखिएको ४० प्रतिशत समस्या समाधान गर्न सकिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 July 2023
Website | + posts