आन्तरिक उत्पादन प्रवद्र्धनका लागि आलु प्याजमा भ्याट : अर्थमन्त्री डा. महत

आन्तरिक उत्पादन प्रवद्र्धनका लागि आलु प्याजमा भ्याट : अर्थमन्त्री डा. महत : Icon Khabar

विराटनगर  असार ४ । आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवद्र्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारे । मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. महतले भने , ‘हामी कृषिप्रधान देश भन्छौं, आलु प्याज यति अर्बको आयात गर्ने, आलु प्याज यहाँ उत्पादन गर्न नसक्ने ? जमिन बाँझो छाड्ने ? विदेशबाट किनेर मात्रै खाने ? भन्ने बहसलाई मध्यनजर राखेर आलु प्याजमा कर लगाएका हौं । आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन । यो भन्सार दरले किसानका धेरै संगठनले स्वागत गरेका छन् । आयातमा मात्र भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन ।’

‘अर्थतन्त्रको जीवनमा विराटनगर माथि थियो, अहिले तल झरेको छ । मलाई विश्वास छ, विराटनगर पूर्वको आर्थिक हबको रुपमा विकासित हुन्छ’ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने , ‘यो क्षेत्रको विकास, यो क्षेत्रको व्यापार व्यवसाय र उद्योग प्रवद्र्धनका लागि नेपाल सरकार सम्पूर्ण रुपले साथमा रहन्छ ।’

कार्यक्रममा अर्थमन्त्रीले भने , ‘हाम्रो अर्थतन्त्रमा समस्याहरु छन्, यसअघि पनि मैले भनेकै हुँ, अहिले पूँजीगत खर्च कम भइरहेको छ । साधारण खर्च घटाउन सकिएको छैन । हाम्रो सामाजिक सुरक्षा र दायित्व बढी छ । विभिन्न किसिमका सौलियत, भत्ता हामीले प्रतिस्पर्धा गरेर नै दिऔं । हाम्रो अर्थतन्त्रले कति धान्न त्यतातिर ध्यान दिएनौं, तर हामीले दिने प्रतिबद्धता गरें, त्यो प्रतिबद्धताबाट पछाडि हट्ने अवस्था रहेन । त्यसैले साधारण खर्च घटाउन सक्ने अवस्थामा हामी थिएनौं, तर प्रशासनिक खर्च हामीले कम गर्ने कोसिस गरेका छौं ।’

‘पूँजीगत खर्च २ खर्ब विनियोजन भएको छ, हाम्रो ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्च कम हुन पुगेको हो । भूकम्पका बेला लिएको ऋण अब तिर्ने बेला भयो । जसले गर्दा साधारण खर्च धेरै घटाउन नसक्ने, ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्चमा दबाब आयो, मन्त्री डा. महतले भने , ‘जसले गर्दा हामीले पूँजीगत खर्चका लागि १७ प्रतिशत मात्र बजेट विनियोजन गर्न सक्यौं ।’

‘वास्तविक पूँजीगत खर्च २७ प्रतिशत छ । साधारण खर्चकै शीर्षकमा प्रदेश र स्थानीय तहलाई दिने, स्वास्थ्य र शिक्षाको शीर्षकमा पनि पूँजीगत खर्चबाटै गरिनेछ । यो जोड्दा २७ प्रतिशत पूँजीगत खर्च पुग्छ, मन्त्री डा. महतले भने , ‘पूँजीगत खर्चमा सुधार गर्नु पर्दैन भन्ने मेरो मान्यता होइन । पूँजीगत खर्चलाई बढाउनुपर्ने आवश्यकता छ । विनियोजित पूँजीगत खर्चलाई प्रभावकारितालाई बढाउन जरुरी छ । मलाई विश्वास छ, आउँदो वर्ष हामी पूँजीगत खर्च बढी गर्न सक्छौं, यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ । अर्थतन्त्र चलायमान भयो भने राजस्व वृद्धिमा सहयोग पुग्छ ।’

‘व्यवसायहरुको माग तीनवटा छन्, यो स्वभाविक हो । यो वर्षको अन्त्यमा आएर ब्याजदरमा सुधार आउन सक्छ । पूँजीगत खर्च र मौद्रिक नीतिले हाम्रो अर्थतन्त्रलाई चलायमान गर्छ । अहिले अर्थतन्त्रलाई चलायमान राख्न सकियो भने हामी अर्को वर्ष पूँजीगत खर्च बढाउन सक्छौं’, मन्त्री डा. महतको भनाइ थियो ।

‘पूर्व–पश्चिम राजमार्गमा धेरै श्रोत परिचालन भएको छ । यति धेरै खर्चलाई हाम्रो ठाउँमा खर्च भएको मान्न कोही तयार छैनन् । मेरो गाउँमा, मेरो नगर र वडामा कति बजेट आयो, त्यसको मात्र हिसाबकिताब हुन्छ । हाम्रा सांसदहरुको प्रश्न पनि त्यसैमा केन्द्रित रहन्छ’ मन्त्री डा. महतले भने ।

विश्व बैंक र एसियाली विकास बैंकको सहयोग श्रोत पश्चिम दाङको लमहीदेखि पूर्व काँकटभिट्टासम्म निर्माणमा खर्च हुँदैछ । बजेटले कोशी प्रदेशलाई समेटेको छ भनेर हिसाब राख्न उनले अनुरोध गरे । उनले भने, ‘पूर्वपश्चिम विस्तार सडक र उत्तर–दक्षिणको सडक निर्माणले यो क्षेत्रको कायापलट हुन्छ भन्ने मलाई विश्वास छ । साथै विराटनगरको रिङरोडले विकासमा यो महानगरलाई विशिष्ट स्वरुप दिन मद्दत पुग्नेछ ।’

हालै सार्वजनिक भएको बजेट महान हो म भन्दिनँ, दुई महिनाको अवधिमा बजेट बनाएको हो, उनले भने , ‘सिस्टमलाई रुपान्तरण गर्न धेरै कुराको अभ्यास हुन जरुरी छ । त्यो अभ्यास गर्ने समय मसँग थिएन । जति समय मैले प्राप्त गरें, त्यो समय मैले भरपूर उपयोग गरेर इमान्दारीपूर्वक बजेट तयार गरेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 June 2023
Website | + posts