बार्सिलोना ला लिगा च्याम्पियन

बार्सिलोना ला लिगा च्याम्पियन : Icon Khabar

काठमाडौं, जेठ १ । क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । क्याटलान प्रतिद्धन्द्धी स्पान्योललाई ४–२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै चार सिजनपछि ला लिगाको च्याम्पियन बनेको हो ।

लियोनेल मेस्सीले अगस्ट २०२१ मा क्लब छोडेपछि बार्सिलोनाको यो पहिलो ला लिगा उपाधि हो र जाभी हर्नान्डेज नोभेम्बर २०२१ मा प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलो पल्ट ला लिगाको उपाधि जितेको हो । यस्तै बार्सिलोनासँगको हारसँगै स्पान्योल चार सिजनपछि रेलिगेसनमा जाने खतरामा छ ।

आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डेले समान एक गोल गरे । घरेलु टोली स्पान्योलका जेभिएर पुएडो र जोसेलुले गोल फर्काए ।

खेलको ११औ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भएका थिए । २०औं मिनेटमा बाल्डेले पेड्रीको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।

४०औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–० ले अघि बढ्यो । उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए ।

५३औं मिनेटमा जुल्स कुन्डेले फ्रान्की डि जोङको पासमा गोल गरेपछि बार्सिलोना खेलमा ४–० ले अघि बढ्यो । त्यसपछि बार्सिलोनाले दुई गोल बेहोरेपनि नतिजा बदलिएन ।

७३औं मिनेटमा जेभिएर पुएडोले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जोसेलुले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि टोलीको हार टरेन ।

यस जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८५ अंक पुगेको छ । बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ ।

अब बार्सिलोनाले सबै चार खेलमा हार र रियलले सबै चार खेलमा जित निकालेपनि नतिजा बदलिने छैन । पराजित स्पान्योल ३४ खेलबाट ३१ अंक जोडेर १९औं स्थानमा छ ।

१६ अक्टोबरमा रियल म्याड्रिडसँग ३–१ ले पराजित भएपनि बार्सिलोना ला लिगामा ३ अंकले पछि परेको थियो । त्यसबेला बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाट पनि बाहिरिएको थियो ।

तर बार्सिलोनामा १७ वर्षको करियरमा ८ ला लिगा उपाधि जितेका पुर्व मिडफिल्डर तथा हालका प्रशिक्षक जाभीले आफ्नो पहिलो पूर्ण सिजनमा टोलीलाई च्याम्पियन बनाउन सफल भए ।

कप्तान सर्जियो बुस्केट्सका लागि यो विशेष दिन बन्यो । उनले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने बताइसकेका छन् । उनले बार्सिलोनामा १८ सिजन बिताएका छन् ।

३४ वर्षीय बुस्केट्सको यो बार्सिलोनाबाट नवौं ला लिगा उपाधि हो । बाल्डे र कुन्डेले बार्सिलोनाबाट ला लिगामा पहिलो गोल गर्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 May 2023
Website | + posts