विदेशबाट दुईवटा मोबाइल कहिलेबाट ल्याउन पाइने भयो ?

विदेशबाट दुईवटा मोबाइल कहिलेबाट ल्याउन पाइने भयो ? : Icon Khabar

काठमाडौँ, वैशाख २९ । सरकारले विदेशबाट आउँदा वैदेशिक रोजगारीबाट फर्किनेले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ।

मन्त्रिपरिषद्को मङ्गलवारको बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले बताइन्।

तर उक्त निर्णयलाई कार्यान्वयनमा लैजान आफ्नो मन्त्रालयसहित श्रम मन्त्रालय र राजस्वमा समेत समन्वय गर्न बाँकी हुँदा थप स्पष्टता आउन बाँकी रहेको उनले बताइन्।

यसअघि भने व्यक्तिले आफ्नो साथमा भएको बाहेक अर्को मोबाइल ल्याउन नपाइने व्यवस्था गरिएकाले विदेशबाट फर्किनेहरूले थप फोन ल्याउँदा अन्तर्राष्ट्रिय विमानस्थलमा सास्ती खेप्नु परेको भन्ने विवरण आएका थिए।

उक्त व्यवस्थाले गर्दा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कैयौँको मोबाइलमा ‘धेरै पैसा थपेर’ मात्रै ल्याउन पाइएको भन्दै सामाजिक सञ्जालहरूमा आक्रोशसमेत पोखिएको थियो।

ल्याइएका मोबाइल भने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता हुनुपर्ने र त्यसका लागि प्रक्रिया सहज रहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए।

मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद्को निर्णय बमोजिम झिटीगुन्टा नियमावली संशोधन भएको कुरा राजपत्रमा प्रकाशित हुनेछ। त्यसपछि अहिलेको निर्णय लागु हुनेछ।

त्यस्तो निर्णय लागु जेठ १ गतेबाट हुने भन्ने विवरण आएका छन्। तर शर्माले भने जेठ १ गतेबाट मिति तोक्न नसकिने भए पनि छिट्टै कार्यान्वयनमा आउने बताइन्।

उनले भनिन्, “मोटामोटी अब एक साता जति लाग्ला कि प्राविधिक काम सक्न भन्ने हो। त्योभन्दा छिटो हुन पनि सक्छ।”

Published Date: 12 May 2023






ताजा
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा लागू हुने
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा
समाजवादको विकल्प छैन: अध्यक्ष बिजुक्छेँ
कानुनी प्रक्रिया बेवास्ता गर्दा सहकारीमा कर्जा समस्या बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान