अमेरिकामा सन् २००१ देखि आजसम्म ५६० बैंक डुबिसकेको हो , तर अहिले यति धेरै त्रास किन ?

अमेरिकामा सन् २००१ देखि आजसम्म ५६० बैंक डुबिसकेको हो , तर अहिले यति धेरै त्रास किन ? : Icon Khabar

काठमाडौँ, चैत ६ । अमेरिकाबाट सुरु भएको बैंकिङ संकट अहिले युरोपसम्म पुगेको छ। स्वीजरल्याण्डको ठूलो बैंक क्रेडिट सुइस अहिले समस्यामा छ। विश्वभरका बैंकिङ स्टकहरू घटिरहेका छन्। लगानीकर्तामा त्रास छ।

अमेरिकाका लगानीकर्ताहरूले साना बैंकहरूबाट पैसा निकालेर ठूला बैंकहरूमा राखिरहेका छन्। अमेरिकामा टाट पल्टिने बैंकहरूको रेकर्ड राख्ने काम सन् २००१ देखि सुरु भएको थियो। त्यसयता ५६० बैंक डुबिसकेका छन्। सन् २००९ मा १४० बैंक र २०१० मा सबैभन्दा बढी १५७ बैंक डुबेका थिए। त्यसअघि सन् २००८ मा २५ बैंक असफल भएका थिए। आधुनिक अमेरिकी इतिहासमा त्यो सबैभन्दा ठूलो बैंकिङ संकट थियो। यसपटक दुईवटा बैंक मात्रै डुबे तर पनि किन यति धेरै त्रास ?

यसको कारण यो हो कि अमेरिकामा सम्पत्तिको हिसाबले यो सन् २००८ यताकै सबैभन्दा ठूलो बैंकिङ संकट हो। सन् २००८ मा असफल भएका २५ बैंकहरूको कुल सम्पत्ति ३७४ अर्ब डलर थियो। यसपटक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको कुल सम्पत्ति ३१९ अर्ब डलर छ। फस्ट रिपब्लिक बैंकमा पनि समस्या देखिएको थियो। गत वर्ष अमेरिकी बैंकहरूले ६२० अर्ब डलर नोक्सनी व्यहोरेको थियो। जसरी यूएस फेड रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाइरहेको छ, त्यसले धेरै बैंकहरू डुब्ने जोखिममा छन्।

बैंकहरु डुबे के हुन्छ?

सन् २००१ देखि यता अमेरिकामा ५६० साना र ठूला बैंक असफल भएका छन्। सन् २००१ मा चार, २००२ मा १०, २००३ र २००४ मा तीन–तीन बैंक असफल भए। यसपछि सन् २००७ मा तीन र २००८ मा २५ बैंक असफल भएका थिए। २००८ मा, वाशिंगटन म्युचुअल डुबेको थियो, जसको सम्पत्ति ३०७ अर्ब डलर थियो। यसबाहेक ३२ अर्ब डलर सम्पत्ति भएको इन्डिम्याक पनि डुब्यो। सन् २००९ मा १४०, २०१० मा १५७, २०११ मा ९२, २०१२ मा ५१ र २०१३ मा २४ बैंक असफल भएका थिए।

त्यसपछि २०१४ मा १७ वटा बैंक डुबेका थिए। त्यसयता हरेक वर्ष असफल हुने बैंकको संख्या एकल अंकमा रहेको छ। तर यसपटक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको पतनले निक्षेपकर्तालाई तर्साएको छ। जनताले साना बैंकबाट पैसा निकालेर ठूला बैंकमा जम्मा गर्न थालेका छन्। बैंकमा निक्षेप कम भएकाले कर्जा कम प्रवाह हुने विज्ञहरू बताउँछन्। यसले अर्थतन्त्रमा पूँजीको प्रवाहलाई रोक्छ र मन्दीको जोखिम बढाउँछ। यसको प्रभाव सम्पूर्ण विश्वमा देखिन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 March 2023
Website | + posts