काठमाडौं, भदौ २४ । बाढीबाट प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्दै रेनबो स्वयंसेवक क्लबले प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहयोगलाई तीव्रता दिएको छ। क्लबले प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी आवश्यक खाद्यान्न, स्वास्थ्य तथा सरसफाइ सामग्रीलगायत अत्यावश्यक राहत सामग्री वितरण गरिरहेको जनाएको छ।
चिनियाँ र नेपाली स्वयंसेवकहरूको संयुक्त प्रयासमा स्थानीय स्वयंसेवक तथा समुदायसँग सहकार्य गर्दै राहत अभियान सञ्चालन भइरहेको छ। बाढीका कारण सडक तथा यातायात सेवा प्रभावित भए पनि दुवै देशका स्वयंसेवकहरू कठिन परिस्थितिका बीच प्रभावित क्षेत्रसम्म पुगेर स्थानीय आवश्यकता बुझ्ने र समयमै सहयोग उपलब्ध गराउने कार्यमा सक्रिय छन्।
क्लबले बाढीबाट अत्यधिक प्रभावित क्षेत्रहरूमा दुईवटा सामुदायिक भान्सा सञ्चालनमा ल्याएको छ। ती भान्सामार्फत बालबालिका, महिला तथा ज्येष्ठ नागरिकसहित दैनिक ६ सयभन्दा बढी प्रभावितलाई खाना उपलब्ध गराउँदै आएको क्लबले जनाएको छ।
त्यसैगरी, आवश्यकता पहिचानका आधारमा प्रभावित परिवारलाई पारिवारिक सरसफाइ किट तथा अन्य अत्यावश्यक राहत सामग्री वितरण भइरहेको छ। प्रभावित समुदायसँग प्रत्यक्ष संवाद र निरन्तर अवस्थाको मूल्याङ्कन गरी राहत सामग्रीको वितरणलाई आवश्यकतामुखी बनाइएको क्लबको भनाइ छ।
राहत अभियानका क्रममा स्थानीय सरकारका निकाय, समुदायका अगुवा तथा स्थानीय बासिन्दासँग समेत समन्वय र सहकार्य भइरहेको छ। चिनियाँ तथा नेपाली स्वयंसेवकहरूको संयुक्त टोलीले बाढीबाट प्रभावित परिवारलाई तत्कालीन राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनःस्थापनाको यात्रामा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।
क्लबले विपद्को यस कठिन घडीमा देशको सीमाभन्दा माथि उठेर प्रभावित समुदायको साथमा उभिनु, तत्कालीन आवश्यकता पूरा गर्नु र पुनःस्थापनाको प्रक्रियामा चरणबद्ध रूपमा सहयोग गर्नु आफ्नो मुख्य उद्देश्य रहेको जनाएको छ।
रेनबो स्वयंसेवक क्लबको यो अभियानले विपद्का बेला मानवीय सहयोग, अन्तरदेशीय सहकार्य र स्थानीय समुदायसँगको साझेदारीमार्फत प्रभावित परिवारलाई राहत तथा भरोसा प्रदान गर्ने प्रयासलाई निरन्तरता दिएको छ।
Published Date: 09 September 2026