काठमाडौं, साउन १२ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास र पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।
यतिबेला देशभर साधारणतया बदली (बादल लाग्ने) रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
देशको हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ भने मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली हुनेछ।
हिमाली क्षेत्रका केही स्थान र पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरैजसो स्थान, बागमती र गण्डकीका तराईका केही स्थान तथा कोशी र मधेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको अनुमान गरिएको छ।
साथै, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग र बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति देशका हिमाली र पहाडी भूभागका साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बादल लाग्नेछ।
हिमाली भूभागका थोरै र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्छ। बागमती, गण्डकी र लुम्बिनीका तराईका केही स्थान तथा कोशी, सुदूरपश्चिम र मधेश प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
Published Date: 28 July 2026