भक्तपुर, साउन २ । विद्यार्थीहरूमा लोकतान्त्रिक संस्कार, नेतृत्व क्षमता, सार्वजनिक वक्तृत्वकला तथा संसदीय प्रक्रियाप्रति व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले मोडर्न स्कूल/कलेज द्वारा आयोजित ‘नमूना संसद (Mock Parliament)–२०८३’ शनिबारदेखि सुरु भएको छ।
शनिबार आयोजित उद्घाटन समारोहमा प्रा. डा. युवराज संग्रौला, वरिष्ठ कानुनविद्, शिक्षाविद् तथा नेपालका पूर्व महान्यायाधिवक्ता प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको औपचारिक उद्घाटन उनले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।
कार्यक्रमको अध्यक्षता मोडर्न स्कूल/कलेजका संस्थापक बाबुकाजी कास्पालले गरेका थिए। कार्यक्रममा प्राचार्य अनिल कास्पाल, कलेज कोअर्डिनेटर शशी कायस्थ, इन्चार्जहरू गङ्गा खनाल, रामप्रसाद पञ्च तथा मणि भैल, कार्यक्रम संयोजक तथा कानुन संकाय प्रमुख लक्ष्मी बाखाद्यो, काठमाडौं स्कुल अफ लका उपप्राध्यापक सम्झना फुँयाल, मोडर्न स्कूल/कलेजका सामाजिक विषय विभाग प्रमुख राजेन्द्र पौडेल, मेन्टर्स श्रीशान्त घिमिरे र प्रकृति सुवाल, साथै विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुआत अतिथिहरूको स्वागत, आसन ग्रहण तथा नेपालको राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि मोडर्न स्कूल/कलेजका प्राचार्य अनिल कास्पालले स्वागत मन्तव्य व्यक्त गर्दै नमूना संसदले विद्यार्थीहरूलाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता, नेतृत्व विकास, तार्किक सोच तथा प्रभावकारी सञ्चार सीप विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
प्रमुख अतिथि प्रा. डा. युवराज संग्रौलाले लोकतन्त्रलाई संस्थागत बनाउन युवा पुस्तामा संवैधानिक चेतना, जिम्मेवारीबोध र तर्कपूर्ण बहस गर्ने संस्कारको विकास आवश्यक रहेको बताए। उनले यस्ता अभ्यासमूलक कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यका जिम्मेवार नागरिक, नीति निर्माता तथा सक्षम नेतृत्वका रूपमा तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
कार्यक्रमका क्रममा सभापति बाबुकाजी कास्पालले प्रमुख अतिथि प्रा. डा. युवराज संग्रौलालाई मायाको चिनो प्रदान गरेका थिए।
मोडर्न स्कूल/कलेजका अनुसार नमूना संसद कार्यक्रममार्फत विद्यार्थीहरूले संसदको बैठक सञ्चालन, विधेयक प्रस्तुत गर्ने, बहस गर्ने, प्रश्नोत्तर गर्ने तथा निर्णय प्रक्रियामा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। यसले नेतृत्व क्षमता, आत्मविश्वास, समालोचनात्मक सोच, वादविवाद कला, निर्णय क्षमता, सहकार्यको भावना तथा नागरिक उत्तरदायित्वको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहको सञ्चालन सञ्चारकर्मी किरण सुवालले गरेका थिए।
Published Date: 18 July 2026