भक्तपुर, साउन ३ । स्वस्थ जीवनशैली, वातावरण संरक्षण, सम्पदा संरक्षण तथा समुदाय निर्माणको सन्देश बोकेको ‘कोरा जात्रा भक्तपुर २०२६’ शनिबार भक्तपुरमा भव्यताका साथ सम्पन्न भएको छ।
साइकल कनेक्ट भक्तपुर को आयोजनामा सम्पन्न कार्यक्रममा काठमाडौं उपत्यकाका तीनै जिल्लासँगै उपत्यका बाहिरका विभिन्न जिल्लाबाट आएका सयौं साइकलयात्रीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूले आफ्नो क्षमता र रुचिअनुसार २५, ५०, ७५, १०० तथा पहिलोपटक समावेश गरिएको १५० किलोमिटर ‘सुपर कोरा’ दूरी पूरा गरेका थिए।
कार्यक्रमको शुभारम्भ भक्तपुरको नःपुखु परिसरबाट भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हरियो झण्डा देखाएर गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले मौसम केही प्रतिकूल भए पनि साहसी साइकलयात्रीहरूको उत्साहले कार्यक्रमलाई अझ सफल बनाएको उल्लेख गर्दै यस्ता अभियानले स्वस्थ जीवनशैली, वातावरण संरक्षण र सम्पदा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
साइकल कनेक्ट भक्तपुरका अध्यक्ष रियाज कर्माचार्यले यस वर्षको कोरा जात्रामा काठमाडौं उपत्यकासँगै देशका विभिन्न जिल्लाबाट सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको बताए। उनले कोरा जात्रा केवल साइकल यात्रा नभई समुदाय, संस्कृति, सम्पदा र नागरिकलाई जोड्ने साझा अभियानका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे।
यस वर्ष **‘सशक्तीकरण’**लाई मूल विषय बनाइएको कोरा जात्राले विशेषगरी महिला सशक्तीकरण, सुरक्षित साइकल संस्कृतिको विकास, वातावरण संरक्षण, सम्पदा जगेर्ना, स्थानीय पर्यटन प्रवर्द्धन, युवा सहभागिता तथा स्वयंसेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको थियो।
दिनभर सञ्चालन भएको कार्यक्रममा साइकल यात्रासँगै सामुदायिक अन्तरक्रिया, सहभागीबीच अनुभव आदानप्रदान तथा सम्पदा र प्रकृतिसँग जोडिएका विभिन्न गतिविधिहरूले थप आकर्षण थपेका थिए। कार्यक्रमको समापनमा सहभागी साइकलयात्रीहरूलाई नेवारी परिकार ‘झो भोये’ खुवाएर आतिथ्य सत्कार गरिएको थियो। यसैगरी, सबै सहभागीलाई ‘कोरा फिनिसर’ अंकित स्मारक पदक (मेडल) प्रदान गरिएको थियो।
आयोजकले सहभागी, स्वयंसेवक, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्रायोजक, सहयोगी संस्था तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी वर्ष अझ व्यापक सहभागितासहित कोरा जात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
Published Date: 19 July 2026