भक्तपुर, साउन २ । स्वस्थ जीवनशैली, वातावरण संरक्षण र सम्पदा प्रवर्द्धनको सन्देश बोकेको ‘कोरा जात्रा भक्तपुर २०२६’ शनिबार बिहानदेखि सुरु भएको छ।
भक्तपुरको नःपुखु परिसरबाट भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फ्ल्याग अफ देखाएर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन्।
कार्यक्रममा बोल्दै साइकल कनेक्ट भक्तपुरका अध्यक्ष रियाज कर्माचार्यले काठमाडौं उपत्यकाका तीनै जिल्लासँगै उपत्यका बाहिरका विभिन्न स्थानबाट पनि ठूलो संख्यामा साइकलयात्रीहरू कोरा जात्रामा सहभागी हुन आएको जानकारी दिए। उनले कोरा जात्राले स्वस्थ जीवनशैली, समुदाय निर्माण तथा सम्पदा संरक्षणप्रति जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
यस अवसरमा साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष सुमित बालाले प्रमुख अतिथि सुनिल प्रजापतिलाई मायाको चिनो प्रदान गरेका थिए।
फ्ल्याग अफ कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले मौसम केही प्रतिकूल भए पनि साहसी साइकलयात्रीका लागि त्यसले कुनै बाधा नपार्ने बताए। उनले सबै सहभागीलाई शुभकामना दिँदै ‘कोरा जात्रा भक्तपुर २०२६’ भव्य र सफल रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे।
यस वर्ष ‘सशक्तीकरण’लाई मूल विषय बनाइएको कोरा जात्रामा सहभागीहरूले २५, ५०, ७५, १०० तथा पहिलोपटक समावेश गरिएको १५० किलोमिटर ‘सुपर कोरा’ सहित विभिन्न दूरीमा साइकल यात्रा गर्नेछन्। कार्यक्रममार्फत स्वस्थ जीवनशैली, वातावरण संरक्षण, सम्पदा जगेर्ना, स्थानीय पर्यटन प्रवर्द्धन तथा समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
Published Date: 18 July 2026