काठमाडौँ, असार १२ । बिहीबार काठमाडौंमा आयोजित ‘दही–चिउरा प्रवर्द्धन कार्यक्रम’मा डेरी उद्योग संघले नेपालमा दैनिक करिब ६५ लाख लिटर दूध उत्पादन हुने तथ्यांक सार्वजनिक गरेको छ। असार १५ अर्थात् राष्ट्रिय धान दिवसका अवसरमा हरेक वर्ष खेतमा धान रोप्दै दही–चिउरा खाने नेपाली परम्पराले कृषि, संस्कृति र स्वदेशी उत्पादनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष प्रह्लाद दाहालले असार १५ जस्ता मौलिक सांस्कृतिक पर्वहरूले नेपाली कृषि परम्परा, दुग्ध उत्पादन र स्वदेशी वस्तुको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले नेपालमै उत्पादित दुग्धजन्य सामग्रीको उत्पादन, बजारीकरण र उपभोगलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
अध्यक्ष दाहालले दुग्ध उत्पादक किसानले भोगिरहेका समस्याप्रति पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए। किसानले उत्पादन गरेको दूधको उचित मूल्य सुनिश्चित गरिनुका साथै समयमै भुक्तानी हुनुपर्नेमा उनले जोड दिए। साथै, दुग्ध उद्योगको दिगो विकासका लागि सरकार, निजी क्षेत्र तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
Published Date: 26 June 2026