काठमाडौं, चैत १२ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे सम्पन्न हुने भएको छ। संघीय संसद् सचिवालयका अनुसार शपथ कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई शपथ गराइसकेका छन्।
सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुने यस समारोहमा ४७ जना सदस्यले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्। तीमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।
नेपालको संविधानको धारा ९९ तथा धारा ९१ को उपधारा ५ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार शपथ लिने व्यवस्था गरिएको हो।
सचिवालयले सबै सदस्यहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो दुई–दुई प्रति साथमा लिएर निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन अनुरोध गरेको छ। साथै, औपचारिक वा सांस्कृतिक पोसाकमा उपस्थित हुन पनि आग्रह गरिएको छ।
समारोहका लागि आवश्यक सिट व्यवस्थापन, रोष्टम, सभामुखको आसन तथा सचिवालयका पदाधिकारीहरू बस्ने व्यवस्था मिलाइएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी १८२ सिट जितेको छ भने नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेकपा ले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्।
Published Date: 26 March 2026