इटहरी, माघ २६ । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (PETSAN) को कोशी प्रदेश भेला मिति २०८२ साल माघ २४ गते होटल इनटुरिष्टको सभा हल, इटहरीमा सम्पन्न भएको छ। सार्वजनिक शैक्षिक गुठीमार्फत सञ्चालित विद्यालयहरूको पहिचान, समस्या र भावी कार्यदिशाबारे गहन छलफल गरिएको उक्त भेलाले सार्वजनिक शिक्षा क्षेत्रका साझा सवाललाई अघि सारेको छ।
भेलाको अध्यक्षता संघका राष्ट्रिय अध्यक्ष श्री जे. एस. पौडेलले गरेका थिए भने कार्यक्रम सचिव श्री सरोज न्यौपानेले सञ्चालन गरेका थिए । कार्यक्रमको प्रारम्भमा संघका वरिष्ठ उपाध्यक्ष श्री मेघराज दुलालले स्वागत मन्तव्य व्यक्त गरे भने कार्यक्रमको समापनमा वरिष्ठ उपाध्यक्ष श्री रमेश महर्जनले धन्यवाद ज्ञापन गरे ।
संघको संगठनात्मक अवस्था, नीतिगत पहल तथा भावी योजनाबारे महासचिव श्री जगत बहादुर महर्जनले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास निर्देशनालय, धनकुटाका निर्देशक श्री कृष्ण प्रसाद पोख्रेल रहेका थिए । त्यस्तै विशिष्ट अतिथि सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशका उपसचिव श्री यादव प्रसाद दुलाल रहेका थिए । भेलामा संस्थाका संरक्षक श्री रमेश मान महर्जन, कोषाध्यक्ष श्री जयराम गोर्खाली तथा वागमती प्रदेश अध्यक्ष श्री नारद भण्डारीको समेत उपस्थिति रहेको थियो।
भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट सार्वजनिक शैक्षिक गुठीमार्फत सञ्चालित विद्यालयहरूका ४० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सबै जिल्ला प्रतिनिधिहरूले आ–आफ्नो जिल्ला तथा पालिकामा विद्यालय सञ्चालन गर्दा देखिएका समस्या, चुनौती र नीतिगत जटिलता समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए।
सहिद, निजामती, एस.ओ.एस., सैनिकलगायत विद्यालयका प्रतिनिधिहरूले केही साझा तथा केही पृथक समस्या उठान गरेका थिए। उनीहरूले यस्ता विद्यालयहरू मुनाफा रहित हुँदाहुँदै पनि व्यवसायिक विद्यालयसरह कर लगाइएको, कसैले W-PAN नपाएको त कसैले Business PAN लिन बाध्य भएको जस्ता विषयप्रति ध्यानाकर्षण गराएका थिए।
भेलाले गम्भीर छलफलपछि सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयहरूको सम्पत्ति सार्वजनिक भएकाले यस्ता विद्यालयहरूलाई सामुदायिक विद्यालयसरह मान्यता दिई Business PAN खारेज गरी W-PAN प्राप्त गर्न केन्द्रमार्फत आन्तरिक राजस्व विभागमा निवेदन गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको छ।
त्यसैगरी भेलाले संगठन सुदृढीकरणतर्फ महत्वपूर्ण कदम चाल्दै जेसिस बाल सदन, विराटनगरका निर्देशक श्री सेवक बजगाईको अध्यक्षतामा ९ सदस्यीय PETSAN कोशी प्रदेश समिति गठन गरेको छ।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष श्री जे. एस. पौडेलले सार्वजनिक शैक्षिक गुठी विद्यालयहरू राष्ट्रको शैक्षिक सम्पदा भएको उल्लेख गर्दै यस्ता विद्यालयको संरक्षण, पहिचान र दिगो विकासका लागि संघ निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । उनले संघको उद्देश्य शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नु रहेको बताए ।
प्रमुख तथा विशिष्ट अतिथिहरूले पनि आ–आफ्नो मन्तव्य राख्दै सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूले समाजमा पुर्याएको योगदानको प्रशंसा गरे र संघका मागहरू नीतिगत तहमा सम्बोधन गर्न सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाए।
सार्वजनिक शिक्षा क्षेत्रका साझा आवाजलाई सशक्त बनाउने उद्देश्यका साथ सम्पन्न यो कोशी प्रदेश भेलाले PETSAN लाई थप संगठित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
Published Date: 09 February 2026