ढाका, पुस २१ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा हुन लागेको २०२६ को टि–२० विश्वकपमा सहभागि नहुने घोषणा गरेको छ । बीसीबीले सुरक्षाको चिन्ता जनाउँदै २०२६ टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाहिर अन्य स्थानमा सार्न आईसीसीसँग औपचारिक अनुरोध गरेको हो ।
उक्त प्रतियोगिता भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । यद्यपि, पछिल्लो समय भारत र बंगलादेशबीच राजनीतिक र कूटनीतिक तनाव बढ्दै गएको थियो ।
सोही अवस्थामा भारतीय क्रिकेट बोर्ड बीसीसीआईको अनुरोधमा आईपीएलको टोली कोलकाता नाइट राइडर्स (केकेआर) ले शनिवार बंगलादेशी बलर मुस्तफिजुर रहमानलाई टिमबाट हटाउने निर्णय गरेपछि यो विवाद झनै उत्कर्षमा पुगेको हो ।
यसैबीच, भारतमा बंगलादेशका अल्पसंख्यकमाथि अत्याचार भएको विषयलाई लिएर भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले निर्देशन दिएपछि कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ का लागि टोलीबाट हटाएको छ ।
बीसीसीआई सचिव देवाजित साइकियाले हालका घटनाक्रमलाई ध्यानमा राख्दै केकेआरलाई मुस्ताफिजुरलाई रिलिज गर्न निर्देशन दिएको पुष्टि गरेका थिए । उनले आवश्यकता परे प्रतिस्थापन खेलाडी लिन बीसीसीआईले अनुमति दिने पनि बताएका छन् ।
मुस्ताफिजुर रहमान गत वर्षको मिनी अक्सनमार्फत आईपीएल २०२६ का लागि केकेआरमा ९ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका थिए । बंगलादेश–भारत सम्बन्ध र क्षेत्रीय घटनाक्रमले अन्तर्राष्ट्रिय क्रिकेटमा समेत असर पार्न थालेको यो घटनाले देखाएको छ ।
यसैबीच पूर्व भारतीय क्रिकेटर हरभजन सिंहले २०२६ पुरुष टी–२० विश्वकपका लागि भारतमा खेल्न नआउने विषयमा बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० समक्ष गरेको अनुरोधबारे प्रतिक्रिया दिएका छन् । उनले भारत सबै टोलीलाई स्वागत गर्न तयार रहेको बताउँदै बंगलादेश भारतमा खेल्न चाहन्छ कि चाहँदैन भन्ने निर्णय अन्ततः उसैको हुने स्पष्ट पारेका छन् ।
एनआईसँग कुरा गर्दै हरभजन सिंहले भने– ‘पछिल्ला केही दिनमा भएका घटनाका कारण बंगलादेश भारत आउन चाहँदैन । बंगलादेशमा जे भयो, त्यो गलत हो । अब आईसीसीले उनीहरूको अनुरोधमा निर्णय लिनुपर्छ । हामी भारतमा सबैलाई स्वागत गर्छौं, तर उनीहरू यहाँ आउन चाहन्छन् कि चाहँदैनन् भन्ने उनीहरूको छनोट हो ।’
Published Date: 05 January 2026-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1