सरकारी सेवा लिन बाधा हुनेगरी राष्ट्रिय परिचयपत्र लागु नगर्न सर्वोच्च आदेश

सरकारी सेवा लिन बाधा हुनेगरी राष्ट्रिय परिचयपत्र लागु नगर्न सर्वोच्च आदेश : Icon Khabar

काठमाडौं, माघ २० । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रको कार्यान्वयनलाई लिएर निर्देशनात्मक आदेश जारी गरेको छ । अधिवक्ता रामबहादुर राउत समेतले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चको पूर्ण इजलासले नागरिकलाई सहज सेवा सुनिश्चित गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको हो ।

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीश द्वय अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको ६ माघको पूर्ण इजलासले जारी गरेको निर्देशनात्मक आदेशको पूर्ण पाठ शुक्रबार मात्रै आएको छ । जसमा राष्ट्रिय परिचयपत्रको अनिवार्यतालाई स्वीकारे पनि यसको अभावमा नागरिकहरू सेवा सुविधाबाट वञ्चित हुन नहुने स्पष्ट पारिएको छ ।

राष्ट्रिय परिचयपत्र प्राप्तिका बारेमा सबै नागरिकलाई जानकारी गराउन सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन समेत अदालतले जोड दिएको छ । त्यसका लागि नागरिकका वासस्थान नजिकै पुगी नेपाली नागरिकताको आधारमा व्यक्तिगत तथा जैविक विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्नेछ ।

सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन तथा वितरणका लागि पर्याप्त स्टेसन वा एकाइ सञ्चालन गर्नुपर्नेछ । साथै राष्ट्रिय परिचयपत्रका विवरण वैज्ञानिक तरिकाले अभिलेखिकरण गरी व्यक्तिको सूचना अनधिकृत प्रयोग वा दुरुपयोग हुन नदिने कुरामा ध्यान दिन आदेश दिइएको छ ।

निर्देशनात्मक आदेश अनुसार राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर प्रयोग गरी सेवा प्रदान गर्ने अन्य निकायका प्रणालीको सुरक्षा सम्परीक्षण गर्नुपर्नेछ । व्यक्तिका विद्युतीय विवरण सुरक्षित र गोपनीयताको संरक्षण गर्ने कुराको प्रत्याभूतिका लागि आवश्यक नीतिगत, कानुनी र संरचनागत प्रबन्धको विकास गर्नुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र नभएकै कारण सार्वजनिक सेवा प्रवाहमा नागरिकले झन्झट, असहजता र कठिनाइ भोग्न नपरोस् भन्ने कुरामा पनि अदालतले सचेत गराएको छ । त्यसैले सामाजिक सुरक्षा भत्ता लगायत सेवा सुविधा राष्ट्रिय परिचयपत्र नभएकै कारणले रोक्न नपाइने गरी आदेश जारी गरिएको छ ।

गृह मन्त्रालयले १० असार २०८१ मा जारी गरेको राजपत्रको सूचनालाई लिएर अदालतले चिन्ता व्यक्त गरेको छ । उक्त सूचनामा नेपाली नागरिकताको प्रमाणपत्रको साटो राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गरेर नागरिकले सेवा लिन सक्ने व्यवस्था गरिएको थियो । अदालतले उक्त सूचना नागरिकताको प्रमाणपत्र भएका तर राष्ट्रिय परिचयपत्र नभएका नागरिकहरूलाई सेवाबाट वञ्चित गर्ने उद्देश्यले नआएको जनाएको छ ।

अदालतले राष्ट्रिय परिचयपत्रलाई नागरिकताको विकल्पको रूपमा नभई नागरिकताको पूरकको रूपमा व्याख्या गरेको छ । राष्ट्रिय परिचयपत्रको विद्युतीय चिपमा नागरिकताको किसिम र नागरिकता नम्बर समेतको अभिलेख रहने भएकाले यसले नागरिकतालाई विस्थापित नगर्ने बताइएको छ ।

अदालतले राष्ट्रिय परिचयपत्रको महत्त्वलाई स्वीकार गर्दै यसको कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । अदालतले नागरिकको अधिकारलाई प्राथमिकता दिँदै राष्ट्रिय परिचयपत्रको अभावमा कोही पनि नागरिक सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भन्नेमा जोड दिएको छ । अदालतले बालबालिका, अशक्त, असहाय र ९० वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्र नभए पनि सामाजिक सुरक्षा लगायतका सेवा लिन बाधा नपर्ने कुरामा पनि जोड दिएको छ ।

सरकारी तथा गैरसरकारी सेवा लिन नागरिकताको सट्‍टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने नियम तत्काल लागु नगर्न भन्दै अदालतले अन्तरिम आदेश दिएको थियो । रिट खारेजीसँगै उक्त अन्तरिम आदेश निष्क्रिय भएको छ भने राजपत्रको सूचना अनुसार विभिन्न सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्य अघि बढाउन सरकारलाई बाटो खुलेको छ ।

सरकारले पहिलो चरणमा २८ जिल्लामा १ साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । यसलाई विस्तार गर्दै थप जिल्लाहरूमा यो नियम लागु गर्ने बताइएको थियो ।

स्वास्थ्य बीमा, निवृत्तिभरण, राजस्व (व्यक्तिगत आयकर दर्ता), सवारी चालक अनुमतिपत्र र कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी कामका लागि समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरिएको थियो । त्यस्तै बैङ्किङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेच सम्बन्धी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ । सरकारी योजना अनुसार निवृत्तिभरण व्यवस्थापन कार्यालयले २८ जिल्लामा पेन्सन पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 February 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने