काठमाडौँ, जेठ २० । समुन्द्री सतहदेखि २५०० मिटरभन्दा माथिको उचाइमा पुग्दा लेक लाग्ने गर्दछ। यो अक्सिजनको कमीले हुने गर्दछ, जसलाई मेडिकल भाषामा हाइपोब्यारिक हाइपोक्जिया भनिन्छ।
समुद्री सतहबाट उँचाइ बढ्दै गएपछि वायुमण्डलमा अक्सिजनको मात्रा कम हुँदै जान्छ र शरीरलाई त्यो वातावरणमा भिज्न समय लाग्छ। अग्लो ठाउँको वातावरणमा बानी पार्ने सिलसिलामा शरीरले छिटो छिटो सास लिने र अक्सिजनको मात्रा बढाउने कोसिश गर्दछ।
तैपनि पुगेन भने अल्टिच्यूड सिकनेस अथवा लेक लाग्न सुरु हुन्छ। धेरैजसो मानिसलाई लेक लाग्ने समस्या, कमजोर र बूढाबूढीहरूलाई मात्र लाग्छ भन्ने लाग्छ तर त्यो सत्य भने होइन। प्राय युवा र बच्चाहरुमा, ५० बर्ष उमेर भन्दा माथीका व्यक्तिहरू भन्दा बढी हुनसक्ने विभिन्न अध्यनहरुले बताउँछ।
लेक लाग्नुका तिन अवस्था र लक्षणहरू
अल्टिच्यूड सिकनेसका तीनवटा अवस्था हुन्छन्। एकुट माउन्टेन सिक्नेस, फोक्सो सुनिने (हाइ अल्टिच्यूड पलमोनरी इडेमा) र मस्तिष्क सुनिने (हाइ अल्टिच्यूड सेरिब्रल इडेमा)।
माउन्टेन सिक्नेस, यो पहिलो अवस्था हो जसमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, कमजोरी महसुस हुने जस्ता लक्षणहरू देखिन्छन्। दोस्रोमा फोक्सो सुनिने, जसले श्वासप्रश्वास सम्बन्धि समस्या निम्त्याउँछ।
सास फेर्न गारो हुने, चाँडो-चाँडो सास फेर्ने, मुटुको चाल तीव्र हुने जस्ता लक्षणहरू देखिन्छन्। अर्को अन्तिम अवस्था भनेको मस्तिष्क सुनिनु हो।
जसमा मस्तिष्क सम्बन्धि लक्षणहरू जस्तै: जोडले टाउको दुख्ने, बान्ता आउने, केही नगरी पल्टिरहन मन लाग्ने जस्ता लक्षणहरू देखा पर्दछन्। फोक्सो र मस्तिष्क सुनिने भनेको अलि गम्भीर अवस्था हुन्। समयमै उपचार नगरे मानिसको ज्यानै पनि जान सक्छ।
लेक लाग्नबाट कसरी बच्ने र लेक लागे के गर्ने ?
लेक लाग्नै नदिन २५०० मिटरभन्दा माथि गएपछि बिस्तारै लेक चढ्ने र दिनमा तीन सय मिटर नबढाइ उक्लिने गर्नुपर्दछ। हिँड्दा पसिना आउने र शरीर सुक्खा हुने हुँदा प्रशस्त मात्रामा पानी पिउनु उत्तम मानिन्छ।
राति सुत्ने ठाउँको उचाइ दिनभरि उक्लेको ठाउँभन्दा होचो हुनुपर्दछ। लेक लागेको थाहा पाएपछि शुरुको अवस्थामा माथि नचढी त्यहीँ बसेर आराम गर्ने। त्यसो गरेमा लक्षणहरू बिस्तारै हराउन सक्छन्। तर, त्यति गर्दा पनि ठीक नभएमा होचो ठाउँमा अथवा तल झर्नु पर्दछ।
लेक लागेको बेला आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु उपयोगी मानिन्छ। बिरामी अझै सिकिस्त भएर फोक्सो अथवा मस्तिष्क सुन्निन थालेमा चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार अक्सिजन, एसिटाजोलामाइड, निफेडिपिन र डेक्सामेथासोन जस्ता औषधि बिरामीको अवस्था हेरेर दिनुपर्ने हुन्छ।
उकालो चढेको ६ देखि १२ घण्टाभित्र हल्का टाउको दुख्ने वाकवाकि र बान्ता लाग्ने जस्ता सुरुवाति लक्षणहरू देखिन थाल्छन्। बेलैमा सतर्क भएर यसबाट बच्ने उपाय र उपचार गरेमा एक दुई दिनमै ठीक हुने गर्दछ।
तर उपचार नगरी उँचाइमै बसिरहेमा अथवा अझै माथि उचाइमा जाने प्रयास गरेमा मस्तिष्क वा फोक्सो सुन्निएर ज्यान समेत जान सक्छ।
Published Date: 02 June 2024
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1